२० बैशाख २०८१, बिहीबार

उत्कर्षमा जसपा बिबाद: उपेन्द्रको ‘एकलौटी बिरुद्ध’ भट्टराई पक्षद्धारा हस्ताक्षर संकलन

jasapa

जनता समाजवादी पार्टी नेपाल (जसपा, नेपाल)को अध्यक्ष उपेन्द्र यादवले पार्टी भित्र ‘एकलौटी गरेको’ भन्दै संघीय परिषद अध्यक्ष बाबुराम भट्टराई समुहले देशैभरी हस्ताक्षर संकलन गरेको छ ।

पार्टी भित्र ‘सामुहिक तथा समावेशी नेतृत्व’ को आफनो मागलाई अध्यक्ष यादवले सम्वोधन गर्न आनाकानी गरे पछि भट्टराई पक्षधरले देशैभरी हस्ताक्षर संकलन गरेको हो ।

आजदेखि काठमाडौंमा सुरु केन्द्रीय कार्यकारिणी समितिको बैठकमा ‘सामुहिक तथा समावेशी नेतृत्व’ को मागलाई छलफलमा लैजाने तर सो मागलाई सम्वोधन गर्न अध्यक्ष यादवले आनाकानी गरेर बिधानतः २५ प्रतिशत भन्दा बढीको हस्ताक्षर बुझाएर केन्द्रीय समितिको बैठक बोलाउने योजना अनुसार सो हस्ताक्षर संकलन गरिएको हो ।

‘जसपा नेपालका मुख्यतः तीनवटा ठुला खस आर्य, आदिवासी÷जनजाति र मधेसी ‘क्लस्टर’हरुको प्रतिनिधित्व गर्ने पार्टी हो, यसको एकता र एकीकरण पनि सोही अनुसार भएको हो भन्ने भुल्नु हुदैन,’ कार्यकारिणी सदस्य प्रशान्त सिंहले भन्नुभयो, ‘बदलिदो देशको परिस्थिति र पार्टी एकताको पृष्ठभूमिलाई हेर्दै अब एकल नेतृत्वमा होइन, समावेशी र सामुहिक नेतृत्व पार्टी भित्र हुनुपर्छ भन्ने अजेन्डा राख्दै आएका छौं, त्यसमा सम्बोधन गर्ने काम भईरहेको छैन ।’ उहाँका अनुसार देशैभरिका नेता तथा कार्यकर्ताले सो माग गर्दा पनि सो बिषयमा छलफल चलाउन नेतृत्वले आनाकानी गरिरहेको छ ।

सो बिषयमा केन्द्रीय अध्यक्ष यादव, संघीय परिषद अध्यक्ष भट्टराई, अशोक राई, महेन्द्रराय यादव र राजेन्द्र श्रेष्ठकाबीचमा लाजिम्पाट देखि बालकुमारीसम्म पटक पटक छलफल भए पनि अध्यक्ष यादवले आनाकानी गरे पछि सो बिषय जसपामा पेचिलो बन्दै गएको छ ।

पटक पटक समावेशी र सामुहिक नेतृत्वका बारेमा नेतृत्वलाई ध्यानाकषर्ण गराउँदा पनि सम्वोधन नभए पछि मुलुकका ७ वटै प्रदेशवाट हस्ताक्षर संकलन सुरु गगरिएकोसिंहले बताउनुभयो । ७ वटै प्रदेशका केन्द्रीय सदस्यहरुको हस्ताक्षर संकलन गरेर केन्द्रीय समिति बैठक बोलाउन माग गर्ने उदेश्यले गरिएको हस्ताक्षर संकलन उत्साहजनक रुपमा भईरहेको उहाँले जानकारी दिनुभयो ।

आज देखि काठमाडौंमा सुरु कार्यकारिणी समितिको बैठकमा एमसीसी, स्थानीय निर्वाचन, समसमायिक राजनीतिक बिषयसहित पार्टीको बिधान अधिवेसनसम्म एजेन्डा तय गरिएको छ ।