१३ बैशाख २०८१, बिहीबार

आक्रमण थाल्यो रसियाले युक्रेनमाथि, रसियाली कदमको चौतर्फी विरोध

russia attack

रसियाका राष्ट्रपति भ्लादिमिर पुटिनले छिमेकी मुलुक युक्रेनमाथि सैन्य आक्रमण सुरु गरिएको बिहीबार बिहान घोषणा गर्नु भएको छ ।

टेलिभिजनबाट प्रत्यक्ष सम्बोधन गर्दै राष्ट्रपति पुटिनले युक्रेनको पूर्वी क्षेत्रमा आक्रमण केन्द्रित गरिएको र त्यो रसियाको आत्मरक्षाका लागि भएको दाबी गर्नु भएको छ ।

आठ वर्षअघि १८ मार्च २०१४ मा युक्रेनको पूर्व–दक्षिण क्षेत्रमा अवस्थित सामरिक महत्त्वको क्राइमियालाई रसियामा गाभेको रसियाले फेरि पूर्वी युक्रेनका डोनबास क्षेत्र, डोनेस्क, लुहान्स्कलाई केही दिनअघि स्वतन्त्र राज्य घोषणा गरेको थियो । हाल डोनेस्क र लुहान्स्क क्षेत्रमा विद्रोही लडाकुहरूको नियन्त्रण छ । यस क्षेत्रमा जारी द्वन्द्वमा १३ हजारभन्दा बढीको ज्यान गइसकेको छ ।

रसियाले अहिले युक्रेनको पूर्वी भागमा रहेका तिनै क्षेत्रलाई केन्द्रित गरी सैनिक अपरेसन थालेको बताउँदै आएको छ, तर रिपोर्टहरूमा पूरै युक्रेनमा रसियाली सेनाले आक्रमण थालेको समाचार छ ।

युक्रेनसँग रहेको सेनाले रसियाली आक्रमण झेल्न कठिन हुने न्यूयोर्क टाइम्सले लेखेको छ । न्यूयोर्क टाइम्सका संवाददाताहरूले अमेरिका र नेटोले युक्रेनलाई उपलब्ध गराएको सीमित हातहतियार र तालिमले रसियाली आक्रमणको प्रतिरोध गर्न सक्नेमा शङ्का व्यक्त गरेका छन् ।

रसियालाई चिढ्याउन र युक्रेनमाथि आक्रमणका लागि उक्साउन एउटा कारक मानिएको उत्तर एटलान्टिक सन्धि सङ्गठन (नेटो) को गतिविधि पनि हो ।

युक्रेनको पछिल्लो राजनीतिक नेतृत्वले पश्चिमा मुलुकको सैनिक गठबन्धनका रुपमा परिचित नेटोको सदस्य बन्न तीव्र इच्छा जनाउँदै आएको छ, र पश्चिमा सञ्चार माध्यमहरूले अधिकांश युक्रेनी जनता नेटोको सुरक्षा छाता मातहत रहन चाहेको समाचार प्रसार गरिरहेका छन् ।

तर रसियाले युक्रेनलाई नेटोको सदस्यता दिइए त्यो रसियासँगको विगतको सम्झौता विपरीत हुने र त्यसले रसियाकै अस्तित्व सङ्कटमा पर्ने बताउँदै आएको थियो । त्यही कारण, राष्ट्रपति पुटिनले युक्रेनलाई नेटोको सदस्यता दिइए त्यसको परिणाम गम्भीर हुने चेतावनी दिँदै आउनु भएको वर्षौँ भइसक्यो ।

खासगरी, रसियासँग लामो सम्बन्ध रहेका पूर्वी युरोपेली मुलुकहरूमा नेटोको सदस्यतालाई लिएर रसिया र पश्चिमा मुलुकबीच निरन्तर विवाद चुलिँदै गएको छ । कुनै समय रसियाका राज्यहरू रहेका इस्टोनिया, लिथुआनिया र लाट्भियाले नेटोको सदस्यता लिइसकेका छन् भने पोल्यान्ड, रोमानीया र अरू कतिपय पूर्वी युरोपेली मुलुकहरू नेटोमा आबद्ध भइसकेका छन् । रसिया विरोधी सैनिक गठबन्धनका रुपमा खडा भएको नेटो अहिले युक्रेन हुँदै रसियाको सीमा नजिक पुगेको छ ।

रसियाका लागि पश्चिम र पूर्वी युरोपसँगको सम्पर्क र व्यापारका लागि युक्रेनको महत्त्व धेरै छ । आफ्नो मुलुकबाट इन्धन ९ग्यास, खनिज तेल० को व्यापारका लागि युक्रेनी भूमिको प्रयोग रसियाका लागि अपरिहार्य झैँ छ । यस्तो अवस्थामा युक्रेनमा नेटो गठबन्धनको व्यापक उपस्थिति भएमा कालान्तरमा रसिया घेराबन्दीमा पर्ने खतरा राष्ट्रपति पुटिनको छ ।

तर, रसियाबाट अलग्ग भएर स्वतन्त्रता प्राप्त गरेको झण्डै तीन दशकपछि युक्रेनमाथि रसियाले पुनः आक्रमण गर्ला भन्ने धेरैले कल्पनासम्म गरेका थिएनन् । तर अहिले ६९ वर्षीय रसियाली राष्ट्रपति पुटिनको महत्त्वाकाङ्क्षा बढेको छ, र राष्ट्रपति पुटिनका कदमहरूले समकालीन विश्वमा नयाँ त्रासको अवस्था सिर्जना गर्दैछ । पश्चिमा राष्ट्रहरू र रसिया–चीनका कारण विश्व राजनीति फेरि ध्रुवीकरण तर्फ अग्रसर हुन लागेको आभास हुन थालेको छ ।

कुनै पनि शक्ति राष्ट्रले साना राष्ट्रहरूलाई संरक्षण गर्नुपर्ने हो । तर, ठुला महाशक्ति राष्ट्रहरू नै साना राष्ट्रलाई छिन्नभिन्न बनाउन र देश नै नियन्त्रणमा लिन उद्यत रहनु विडम्बना नै हो । संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसले भावुक हुँदै राष्ट्रपति पुटिनसमक्ष युद्ध रोक्न र सैनिकहरू युक्रेन नपठाउन आग्रह गर्नु भएको छ । “त्यहाँ पहिल्यै धेरैले जीवन उत्सर्ग गरिसकेका छन् । अब अझै रगत बगाउन दिनु हुँदैन र शान्तिको एउटा मौका दिनुहोस् ।”

गोप्य सूचनाहरूको हवाला दिँदै अमेरिकी राष्ट्रपति जो बाइडेनले रसियाले युक्रेनमा आक्रमण गर्ने योजना बनाइसकेको र रसियाले त्यो दिनको पर्खिरहेको बताउँदै आउनु भएको थियो ।

आक्रमणको घोषणा गरिएको खबर पाए लगत्तै राष्ट्रपति बाइडेनले राष्ट्रपति पुटिनले मानवीय क्षति र पीडा निम्त्याउने एउटा असफल योजनाबद्ध युद्ध रोज्नु दुर्भाग्यपूर्ण रहेको उल्लेख गर्नु भएको छ । युक्रेनमा हुने मानवीय र भौतिक क्षतिका लागि रसिया दोषी ठहरिने छ, र त्यसलाई विश्वले कहिल्यै माफ नगर्ने राष्ट्रपति बाइडेनले भन्नु भएको छ ।

युक्रेनका राष्ट्रपति भोलोदिमर जेलेन्स्कीले अहिले आफ्ना जनतालाई धैर्य गर्न र रसियाली आक्रमणको डटेर प्रतिकार गर्न आह्वान गर्नु भएको एएफपीले जनाएको छ ।

उहाँले रसियाका झण्डै २ लाख सैनिक हातहतियार सहित युक्रेनभित्र प्रवेश गर्न लागेको बताउनु भएको छ । युक्रेनको राजधानी सहित पूर्वी युक्रेनका द्वन्द्वग्रस्त क्षेत्रहरूमा विस्फोटका आवाज सुनिएको पनि अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरूले जनाएका छन् ।

युक्रेनमाथि भएका हमलाहरूको फ्रान्स, इटाली, जापान, अस्ट्रेलिया, जर्मनी, बेलायत समेतका युरोपेली युनियनमा आबद्ध मुलुकहरूले कडा शब्दमा निन्दा एवं भर्त्सना गरेका छन् । उनीहरूले रसियामाथि कडा प्रतिबन्धहरू घोषणा गरिने बताएका छन् । विगतमा समेत विभिन्न प्रतिबन्धहरू झेल्दै आएको रसियाले फेरि नयाँ प्रतिबन्धहरूको सामना गर्नुपर्ने ती राष्ट्रले घोषणा गरेका छन् ।

नाकाबन्दीका लागि युक्रेनी आह्वान

रसियाले एक स्वतन्त्र मुलुकमाथि अन्तर्राष्ट्रिय कानुनको उल्लङ्घन गरी जबरजस्ती युद्ध गरिरहेको जनाउँदै युक्रेनले रसियामाथि अन्तर्राष्ट्रिय जगतबाट कठोर नाकाबन्दी लगाउन आह्वान गरेको छ ।

राष्ट्रपति बाइडेनले युक्रेनी राष्ट्रपति जेलेन्स्कीसँग कुरा गर्दै आफूले सात औद्योगिक राष्ट्रहरूको समूह जी–७ का नेताहरूसँग बिहीबार बैठक गर्न लागेको र बैठकले रसियामाथि कठोर प्रतिबन्धहरू लगाउने बताउनु भएको छ ।

युक्रेन र युक्रेनी जनतालाई सबै किसिमको सहायता गर्न अमेरिकी गठबन्धन मुलुकहरू तयार रहेको पनि बाइडेनले बताउनु भएको थियो ।

युक्रेनी युद्धको असर
युक्रेनमा रसियाले आक्रमण थालेसँगै अन्तर्राष्ट्रिय बजारमा तेलको मूल्य वृद्धि भएको छ । तेलको मूल्य सात वर्ष यताकै सबैभन्दा बढी पुगेको छ ।

अन्तर्राष्ट्रिय बजारमा तेलको मूल्य प्रति ब्यारेल १०० डलर नाघेको छ । एसियाली शेयर बजार पनि केही घटेको छ । (अन्तर्राष्ट्रिय सञ्चार माध्यमको सहयोगमा तयार पारिएको) रासस