१६ चैत्र २०८०, शुक्रबार

बाह्र दिनपछि उपत्यकाको फोहाेर उठ्यो

fohor
फाइल फोटो

बाह्र दिनपछि बल्ल काठमाडौं उपत्यकाको फोहाेर व्यवस्थापन गर्न थालिएको छ । बुधबार स्थानीय र सरोकारवालाबीचका छलफलमा तत्काल सडक निर्माणको काम सम्पन्न गर्ने सहमति भएपछि आज बिहानदेखि उपत्यकको १८ स्थानीय तहका फोहाेर विसर्जन हुन थालिएको हो ।

तोकिएका समयमा सडक निर्माणको काम सम्पन्न नगरेको जनाउँदै स्थानीयको अवरोधका कारण यही फागुन १ गतेदेखि फोहाेर उठ्न सकेको थिएन ।

हाल फोहाेर विसर्जन गरिएको स्थान नुवाकोटको सिसडोलसम्म पुग्नेछ किलोमिटर बाटो मर्मतको काम समयमा नै सम्पन्न नगरेको जनाउँदै पासाङल्हामु राजमार्गका स्थानीयले गरेको अवरोधका कारण ती स्थानीय तहको फोहाेर उठ्न नसकेको हो ।

बाह्र दिनपछि फोहाेरको व्यवस्थापन आज बिहानदेखि हुन थाले पनि यसअघि काठमाडौं उपत्यकाको सडकमा जम्मा भएको सबै फोहाेर व्यवस्थापन गर्न भने कम्तीमा पाँच दिन लाग्ने कामपाको भनाइ छ ।

ती स्थानीय तहको फोहाेर विसर्जन गर्नका लागि दीर्घ समाधान हुन नसक्दा पटकपटक समस्या उत्पन्न भएको कामपा वातावरण विभागको प्रमुख सरिता राईको भनाइ छ ।

उहाँका अनुसार २०७० सालदेखि सुरु गरेको बाटो अहिलेसम्म बन्न नसक्दा त्यहाँ पटकपटक स्थानीयले आन्दोलन गर्दा फोहाेर विसर्जनमा अवरोध हुने गरेको छ । “यस्तो विषयमा केन्द्र सरकार संवेदनशील हुनुपर्छ”, उहाँले भन्नुभयो, “त्यसका लागि बाटो छिटो निर्माण सम्पन्न गर्न सम्बन्धित निकायले पहल गर्नुपर्छ ।”

सडक बनाउने जिम्मेवारी

सङ्घीय सरकारको भए पनि उपत्यकाको फोहाेर पटकपटक रोकिँदा गाली कामपाको खाने गरेको छ । हाल बञ्चरेडाँडामा दीर्घकालीन फोहाेर व्यवस्थापनस्थल निर्माणकार्य भइरहेको र निर्धारित समस्यमा काम सम्पन्न नहुँदा समस्या भएको कामपाको भनाइ छ ।

कामपाले नियमितरुपमा उपत्यकाको फोहाेर विसर्जन गर्ने हो भने केन्द्र सरकारले छिटोभन्दा छिटो दीर्घ समाधन खोज्न आवश्यक रहेको भन्दै अन्यथा आगामी बर्खाका समयमा झन् ठूलो समस्या आउने जनाएको छ ।

काठमाडौं उपत्यकाको फोहाेर नुवाकोटस्थित सिसडोलमा व्यवस्थापन हुँदै आएको छ उक्त स्थान पनि भरिएपछि फोहाेर व्यवस्थापनमा थप समस्या हुन थालेको हो ।

हाल फोहाेर व्यवस्थापन भइरहेको स्थानभन्दा दुई किलोमिटर पर बञ्चरेडाँडामा निर्माणाधीन दीर्घकालीन फोहाेर व्यवस्थापनस्थल निर्माणको काम निर्धारित समयमा सम्पन्न हुन नसक्दा समस्या आएको कामपाको भनाइ छ ।