७ बैशाख २०८१, शुक्रबार

मन्त्री पद जोगाउन एमसीसी पक्षधर हुने, बाहिर चाहिँ विपक्षमा कायर्कर्ता उराल्ने ?: गोकर्ण विष्ट

gokarna bista bishta 1
फाइल फोटो

नेकपा (एमाले)का सचिव गोकर्ण विष्टले सत्ता गठबन्धनका केही राजनीतिक दलहरुले अमेरिकी सहयोग नियोग मिलेनियम च्यालेञ्ज कर्पोरेसन (एमसीसी)का विषयमा दोहोरो चरित्र देखाएको आरोप लगाएका छन् ।

गृह जिल्ला गुल्मीको मुसिकोट नगरपालिका–५ आँपचौरको तल्लाफाँटमा सहिद पार्कमा निर्मित विभिन्न भौतिक संरचनाको उद्घाटन गर्दै उनले भने,“सत्तामै रहेका कतिपय राजनैतिक दलका मित्रहरुले म मन्त्री भएको हैसियतले एमसीसीमा असहमति जनाउन मिल्दैन तर सांसद्को हैसियतमा भने एमसीसी पास गर्न हुन्न भन्ने पक्षमा छु भनेको सुन्छु ।”

उनले थपे,“यस्तो पनि कही हुन्छ ? संसदीय इतिहासमा यस्तो लाज मर्दो, अनौठो तमासा अहिलेसम्म कही कतै देखिएको थिएन । मन्त्री पद जोगाउनका लागि एमसीसीको पक्षमा हुने, बाहिर चाहिँ एमसीसीको विपक्षमा कार्याकर्ता उराल्ने ? एमसीसीको विपक्षमा भए सरकार छाड्नु पर्यो नत्र यस्तो तमासा देखाउनु भएन ।”

उनले एकातिर सत्ता गठबन्धनका मन्त्रीहरुले भोट हाल्न पाउने तर अर्कोतिर सांसद्ले बहिस्कार गरे झैँ गरी नाटक मञ्चन गरेको बताए ।

“सत्ता गठबन्धनमा भएका मन्त्रीहरुले भोट हाल्न पाउने रे । तर, सांसद्हरुले बहिस्कार गर्ने रे । यो कस्तो नाटक प्रदर्शन हो ? सांसद्ले बहिस्कार गरेमा हामी फरक मान्यतामा थियौँ भन्ने सन्देश दिने तर मन्त्रीहरुले भोट हालेमा सत्ता गठबन्धन र मन्त्री पद जोगाउने,” उनले भने ।

नेता विष्टले दुनियामा कतै नभएको असंसदीय अभ्यास नेपालमा भइरहेको भन्दै कुनै पनि समस्याहरुलाई एमालेले जनताको हितमा फैसला गर्ने बताए ।

“एमसीसीलगायत मुद्दामा नेकपा (एमाले)ले राष्ट्र र जनताको हितमा निर्णय लिने छ,” उनले भने ।