७ बैशाख २०८१, शुक्रबार

अपमान महसुस हुन्छ रामचन्द्रसँग तुलना गर्दा: गोविन्दराज जोशी

nepali congress govinda raj joshi
फाइल फोटो

नेपाली कांग्रेसका पूर्व सहमहामन्त्री गोविन्दराज जोशीले कांग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेलसँग तुलना गर्दा आफ्नो अपमान हुने बताएका छन् । वामपन्थी पार्टीबाट कांग्रेसमा आएका अवसरवादी पौडेलसँग आफ्नो तुलना गर्दा अपमान महसुस हुने उनको भनाइ छ । उनले आफू पौडेलसँग कुनै हालतमा मिल्न नसक्ने स्पष्ट पारे ।

बिपी विचार समाज शुक्लागण्डकीको अधिवेशनलाई मंगलबार सम्बोधन गर्दै जोशीले भने, ‘तपाईहरूले रामचन्द्र पौडेल र गोविन्दराज जोशी मिल्नुपर्‍यो । तपाईहरू आपसमा लड्नुभो, एक अर्कालाई लखेट्नु भयो, झगडा गर्नु भएन भन्नुहुन्छ । त्यो भनाइले मलाई अपमानको महशुस हुन्छ । किनकी पौडेल २०१८ सालमा मात्र कांग्रेसमा आएको मान्छे हुन्। आफैँले भनेका छन् त्योभन्दा पहिले वामपन्थी पार्टीमा थिएँ भनेर ।

नेपालको प्रजातान्त्रिक आन्दोलनमा कुनै योगदान नभएकोसँग तुलना हुँदा आफू अपमानित भएको ठान्छु । साथीहरुले मेरो भलो गर्नु पर्दैन । तर, रामचन्द्र र गोविन्दराज मिल्न परो भन्ने कुरा नगर्दिनु होला ।’

उनले पौडेल कांग्रेसमा फाइदा हुन्छ भनेर आएको र कांग्रेसमा पनि कहिले कता कहिले कता लाग्ने अवसरवादी चरित्रको नेता भएको टिप्पणी गरे । तनहुँमा कांग्रेस पौडेलकै कारण समाप्त भएको उनको आरोप छ । पौडेलले पार्टीमा भाडभैलो मच्याइरहेकाले राष्ट्रघातीको संज्ञा दिए । ‘जसले पैसा खाएर संविधानमा धर्म निरपेक्षता लेख्यो त्यो मान्छे राष्ट्रघाती नहुने हामी इमान्दार नेता कार्यकर्ता राष्ट्रघाती हुने,’ उनको आरोप छ ।

जोशीले रामचन्द्र पौडेलहरूको जालझेलका कारण आफूलाई पार्टीले कारवाही गरेको टिप्पणी पनि गरे । ‘मलाई अहिलेसम्म कारवाही भएको पत्र दिइएको छैन् । न त केन्द्रीय समितिले निर्णय गरेको छ । दुई चार जना मिलेर जुन नाटक गरिएको छ । त्यो विरुद्धको अभियानमा लागेको छु,’ उनले प्रस्ट्याए ।

नेता जोशीलाई पार्टीले साधारण सदस्य समेत नरहने गरी कारवाही गरेकोे छ । गत निर्वाचनमा वरिष्ठ नेता रामचन्द्र पौडेलविरुद्ध बागी उम्मेदवारी दिएका जोशीलाई कांग्रेसको अनुशासन समितिले पाँच वर्षका लागि पार्टीबाट निस्काशन गरेको हो । १० साउन २०७६ मा कारवाहीमा परेका उनले अब पार्टीले कारवाही फुकुवा गरे पनि केही अर्थ नराख्ने उल्लेख गरे ।

अबको निर्वाचनमा आफु पक्षधरलाई तनहुँ कांग्रेसले नसमेटे माओवादी एमाले समाजवादी जुनसुकै पार्टीसँग तालमेल गरेर अगाडि बढ्ने जोशीको दाबी छ । ‘पहिलो प्राथकिमता कांग्रेससँग मिलेर जाने हो । सम्मानजनक व्यवहार नभए हामी जुनसुकै पार्टीसँग मिलेर निर्वाचन लड्नेछौँ,’ उनको चेतावनी छ ।