७ बैशाख २०८१, शुक्रबार

सार्वजनिक स्थानमा बम राखेर आतंक फैलाउने नौ जना पक्राउ

bomb

सार्वजनिक स्थानमा बम राखेर आतंक फैलाउँदै आएका नौ जनालाई प्रहरीले पक्राउ गरेको छ ।

झापाको दमक र बिर्तामोडको सार्वजनिक स्थानमा प्रेसर कुकर बम राखेर आतंक फैलाउनेलाई पक्राउ गरी बिहीबार प्रहरीले सार्वजनिक गरेको हो । पक्राउ पर्नेमा मन्दिरका पुजारीदेखि लागुऔषध मुद्दामा फरार रहेकासमेत रहेको प्रहरीले जनाएको छ ।

पक्राउ पर्नेमा गौरादह(२ का ३८ वर्षीय सुमनकुमार कार्की, कनकाई–३ का ४१ वर्षीय भीष्म थापा, दमक(९ की ५० वर्षीया देवी बाँस्कोटा गुरागाईं, कनकाई ३ का ५८ वर्षीय कुमार भन्ने यमदत्त सिटौला, शिवसताक्षी १ का ३२ वर्षीय सरुण लिम्बू भनिने दिलकुमार सामेखाम, संखुवासभा खाँदवारी–१० घर भई मोरङ सुन्दर हरैचा बस्ने २९ वर्षीय मनोमहन दाहाल, गौरीगञ्ज–३ का ३२ वर्षीय आनन्द भनिने अनन्तप्रसाद गिरी, गौरादह–५ का ३३ वर्षीय प्रदीप थापा, गौरीगञ्ज–३ का ४५ वर्षीय विजयकुमार दास हलुवाई रहेको जिल्ला प्रहरी कार्यालय झापाका प्रवक्ता वसन्त पाठकले जानकारी दिनुभयो ।

पक्राउ परेकामध्ये सुमनकुमार कार्की मुख्य अभियुक्त हुन् । उनी विगतमा वैदेशिक रोजगारी सम्बन्धी ठगी मुद्दामा दुई वर्ष जेल सजाय काटेका थिए । हाल लागुऔषध मुद्दामा जिल्ला अदालत झापाबाट पक्राउ पुर्जी जारी भई फरार अभियुक्तको सूचीमा छन् ।

‘हिमाल सुरक्षा’ परिषद्को नाममा विभिन्न ठाउँमा बम राखेर चन्दाका लागि आतंक फैलाउँदै आएको जिल्ला प्रहरी कार्यालय झापाका प्रमुख प्रहरी उपरीक्षक विश्वमणि पोखरेलले जानकारी दिनुभयो ।

उनको साथबाट हिमाल सुरक्षा परिषद्को पर्चा, पम्प्लेट, स्ट्याम्प, चन्दा माग्ने गरेको सिमकार्ड, आर्थिक संकलनका लागि लेखिएको पत्रसमेत फेला परेको प्रहरीले जनाएको छ ।

यस्तै, पक्राउ परेका सिटौला कनकाई–४ स्थित कोटीहोमका पुजारी हुन् । उनले ग्रेटर नेपाल माग राखी प्रेसर कुकर राखेको अभियोगमा पक्राउ परेका एक व्यक्तिसँग मिली कुटीमा बोलाएर हिन्दु राज्य, राजतन्त्र पुनस्र्थापनाको माग राखी पटकपटक बैठक बसेको प्रहरीले आरोप लगाएको छ । उनले भीष्म थापालाई मोटरसाइकल किनिदिने प्रलोभन देखाएर बम राख्न लगाएको प्रहरीको आरोप छ । थापा ट्युबेल गाड्ने मजदुर हुन् ।

विगतमा उनीहरु गोरखा जनमुक्ति पार्टीको नाममा अपराधिक गतिविधि गर्दै आएको प्रहरीले जनाएको छ ।