८ बैशाख २०८१, शनिबार

अमेरिकी सहयोग परियोजना (एमसीसी)लाई लिएर विभाजित गठबन्धन दलहरु सहमतिको अन्तिम कसरतमा जुट्दै

Gath sher Prachanda Madhav 1
फाइल फोटो

अमेरिकी सहयोग परियोजना (एमसीसी)लाई लिएर विभाजित सत्तारुढ गठबन्धन दलहरु सहमतिको अन्तिम कसरतमा जुट्दै छन् ।

सम्झौता संसदबाट अनुमोदन गर्ने विषयलाई लिएर चर्किएको मतभेदका कारण हिजै आआफ्नो बाटो तय गर्ने अवस्थामा पुगेका दल आज निर्णायक वार्तामा बस्न लागेका हुन् ।

सत्ता गठबन्धनका दलमध्ये नेपाली कांग्रेस मात्रै एमसीसी सम्झौता जस्ताको तस्तै संसदबाट अनुमोदन गर्नुपर्ने पक्षमा छ । माओवादी केन्द्र र एकीकृत समाजवादी संशोधन नगरी एमसीसी संसदबाट पास गर्न नहुने पक्षमा छन्।

प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले हिजैको संसद बैठकमा एमसीसी टेबल गर्ने जोडबल गरेपनि गठबन्धनमा रहेका दलहरुको विरोधका कारण त्यो सम्भव भएन ।

माओवादी केन्द्रले एमसीसी जबर्जस्ती संसदमा पेश गरिए सरकारबाट बाहिरिने निर्णय गरेको थियो । एमसीसीकै कारण गठबन्धन भत्कने अवस्थामा पुगेपछि हिजोको संसद बैठकमा एमसीसी टेबल नगरे पनि भोलिको बैठकमा पेश गर्ने सरकारको तयारी छ।

कानून, न्याय तथा संसदीय मामिलामन्त्री दिलेन्द्रप्रसाद बडूले राजनीतिक सहमतिमै प्रतिनिधि सभाको अर्को बैठकमा एमसीसी सम्झौता पेश हुने बताउनुभएको छ ।

प्रधामन्त्री देउवा र माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच हिजो भएको वार्ता पछि आज सत्तारूढ दलको बैठकपछि मात्र अघि बढ्ने सहमति भएको छ ।

माओवादी केन्द्र संसदीय दलको बैठक सकेर प्रचण्ड देउवालाई भेट्न बालुवाटार पुग्नुभएको थियो ।आजको बैठक निर्णायक हुने नेताहरुले बताइरहेका छन् । दिउँसो ३ बजे सत्तारुढ दलका शीर्ष नेताबीच छलफल हुंदैछ ।