७ बैशाख २०८१, शुक्रबार

झडपमा १५ प्रहरी दुई प्रदर्शनकारी घाइते, १४८ पक्राउ

620ceb383a3b0 protest

सरकारले अमेरिकी सहायता परियोजना मिलेनियम च्यालेञ्ज कर्पोरेशन (एमसीसी) संसदमा पेश गर्ने तयारी गरिरहेका बेला त्यसकाे विराेधमा नयाँ बानेश्वरमा प्रहरी र प्रदर्शनकारीबीच झडप भएको छ ।

झडपको स्थिति आएपछि प्रहरीले दश राउण्ड अश्रुग्यास प्रहार गरेको महानगरीय प्रहरी परिसरका प्रवक्ता दिनेशराज मैनालीले बताउनुभयो । उहाँका अनुसार १५ प्रहरी र दुई जना प्रदर्शनकारी घाइते भएका छन् । घाइतेमध्ये चार जनाको वीर अस्पतालमा उपचार भइरहेको छ ।

प्रदर्शनकारीको ढुङुगामुढाबाट घाइते भएका प्रहरीको अहिलेको स्वास्थ्य अवस्थाको बारेमा जानकारी नभएको उहाँले बताउनुभयो । १४८ जना प्रदर्शनकारीलाई प्रहरीले नियन्त्रणमा लिएको छ । १३६ पुरुष र १२ जना महिलालाई प्रहरीले नियन्त्रणमा लिएको हो ।

आज बिहानैदेखि नयाँ बानेश्वर क्षेत्र तनावग्रस्त छ । प्रहरीले प्रदर्शनकारीमाथि पानीको फोहोरा हानेर भीड तितरबितर पारे पनि प्रदर्शनकारीहरुले एमसीसी राष्ट्रिय हितमा नरहेको भन्दै खारेज गर्नुपर्ने माग गर्दै प्रदर्शन गरेका थिए ।

सरकारले अमेरिकी सहायता परियोजना मिलेनियम च्यालेञ्ज कर्पोरेशन (एमसीसी) संसदमा पेश गर्ने तयारी गरेपछि विभिन्न राजनीतिक दलले प्रदर्शन गरेका छन् ।