१३ बैशाख २०८१, बिहीबार

कांग्रेस सांसद भन्छन्ः एमसीसीमा प्रचण्ड भागेर हामीलाई धोका दिए

sthai kamiti baithak maoist scaled
फाइल फोटो

नेपाली कांग्रेसका सांसदहरूले माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले आफूहरूलाई धोका दिएको बताएका छन्।

बुधबारको संसद बैठकमा एमसिसी टेबल नभएपछि कांग्रेस सांसदहरूले प्रचण्डले धोका दिएको बताएका हुन्।

प्रधानन्यायाधीश चोलेन्द्रशमशेर राणाविरूद्ध महाअभियोग ल्याए आफूले एमसीसी पारित गर्न सघाउने वचन दिएका प्रचण्ड अहिले भागेको एक सांसदले बताए। ‘राणाविरूद्ध महाअभियोगमा हामीलाई हस्ताक्षर गर्न लगाएर अहिले एमसिसी टेबल गर्ने बेला उहाँ भागेको भाग्यै हुनुभएको छ,’ कांग्रेसका एक सांसदले भने ।

यस्तै अर्का सांसदले पनि माओवादीले आफूहरूलाई ‘धोका’ दिएको आरोप लगाए । प्रधानन्यायाधीशविरूद्धको महाअभियोग ल्याए एमसीसी पास गराउने बाचा गरेको माओवादीले आज आएर एमसिसी ल्याए गठबन्धननै तोड्ने चेतावनी दिएर धोका दिएको बताए ।

‘सुरुमा हामीले प्रधानन्यायाधीशमाथि महाअभियोग नलगाऔं भन्दा माओवादीले चोलेन्द्रलाई महाअभियोग लगाऔं हामी एमसिसीमा सहयोग गर्छौं भने, आज आएर सहमति तोड्ने कुरा गर्छन् ’, ती सांसदले भने। नेपाली कांग्रेसका नेता मिलेन्द्र रिजालले कांग्रेस उग्रवामपन्थीको राजनीतिमा रंगीन नसक्ने भन्दै आफ्नो सिद्धान्तमा उभिनुपर्ने बताए ।

सांसद रिजालले आफ्नो सिद्धान्तमा उभिएर अहिलेको हल खोज्नुपर्ने बताए । ‘उग्रवामपन्थी राजनीतिमा कांग्रेस रंगीन सक्दैन । कांग्रेस सत्तामा बसोस् या त प्रतिपक्षमा बसोस् । कांग्रेस सिद्धान्तमा उभिने पार्टी रहनुपर्छ’, कांग्रेस सांसद मिनेन्द्र रिजालले भने, ‘त्यसैलाई मूल आधार बनाएर अहिलेका सबै समस्याको समाधान खोज्नुपर्छ ।’

यसअघि कांग्रेस, माओवादी केन्द्र र एकीकृत समाजवादीका शीर्ष नेताहरूबीच माओवादी र एकीकृत समाजवादीको अनुपस्थितमा संसदबाट एमसीसी पारित गर्ने सहमति भएको थियो। बुधबार बिहान बसेको माओवादी केन्द्रको संसदीय दलको बैठकले सहमतिबिना एमसिसी पारित भए सरकारबाट बाहिरिने निर्णय गरेपछि आजको संसद बैठकमा एमसीसी टेबल हुन सकेन ।