१४ बैशाख २०८१, शुक्रबार

सार्वजनिक पदमा नहुँदा भएको अनौपचारिक विषयलाई उछालेर बदनाम गर्न खोजियो : मन्त्री आलेको सचिवालय

prem ale
फाइल फोटो

संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आलेविरुद्ध तथ्यहीन आरोप लगाएर बदनाम गराउन खोजिएको भन्दै उहाँको सचिवालयले आपत्ति जनाएको छ ।

निरन्तररूपमा मन्त्री आले तथा नेकपा एकीकृत समाजवादीका नेताहरूविरुद्ध सामाजिक सञ्जालमा असभ्य टिप्पणी गरिएको भन्दै पर्यटनमन्त्री आलेका प्रमुख स्वकीयसचिव हेमन्त रेग्मीले विरोध जनाउनुभएको हो ।

सार्वजनिक पदमा नहुँदा भएका अनौपचारिक एवं व्यक्तिगत विषयलाई अनधिकृतरूपमा बाहिर सार्वजनिक गरी मन्त्रीको छविमा आँच आउने काम गरिएको भन्दै दोषीमाथि कडा कारबाही गर्न स्वकीयसचिव रेग्मीले माग गर्नुभएको छ ।

मन्त्री आलेमाथि सुदूरपश्चिम प्रदेशको अछाम घर भई हाल भारतको मुम्बई बस्दै आएका जगत् ओलीको नामबाट निरन्तर रूपमा ब्ल्याकमेल गर्ने, उहाँलाई उत्तेजित गर्ने र सोही विषयलाई सामाजिक सञ्जालमा राख्ने तथा धम्क्याउने काम भएको भन्दै सचिवालयले खेद प्रकट गरेको हो ।

मन्त्री आलेले पछिल्लो समय जनमुखी कार्य गरेर लोकप्रिय हुन थालेपछि मन्त्री आलेविरुद्ध षडयन्त्रपूर्वक उत्तेजित पार्न खोजिएको भन्दै त्यस्तो भ्रममा नपर्न आग्रह समेत गरिएको छ ।