बुधवार एमसीसी टेबुल हुने सम्भावना, कार्यव्यवस्था समितिको बैठक राख्न सभामुखलाई प्रधानमन्त्रीको टेलिफोन

प्रधानमन्त्री शेरबहादुर देउवाले कार्यव्यवस्था परामर्श समितिको बैठक राख्न सभामुख अग्नि सापकोटालाई आग्रह गर्नुभएको छ ।
कांग्रेस संसदीय दलको बैठक स्थलबाट नै सभामुख सापकोटालाई फोन गरी प्रधानमन्त्री देउवाले समितिको बैठक राख्न आग्रह गर्नुभएको हो ।
मिलिनियम कर्पोरेशन कम्प्याक्ट (एमसिसी) टेबल गर्ने विषय संसदीय दलको बैठकमा मत मिलेपछि दलका नेता रहनुभएका प्रधानमन्त्री देउवाले बैठक स्थलबाटै सभामुख सापकोटालाई टेलिफोन गर्नुभएको थियो ।
बैठकमा सहभागी कांग्रेसका पूर्व महामन्त्री डा शशांक कोइरालाले बुधवारको बैठकमा एमसिसी टेबल हुन सक्ने संभावना बढेको बताउनुभयो । बैठकमा धारणा राखेका कांग्रेसका अधिकांश सांसद एमसीसीको पक्षमा उभिएको उहाँले बताउनुभयो । संसद बैठक बुधबार दिउँसो १ बजेका लागि बोलाइएको छ ।
बैठकमा पूर्व अर्थमन्त्री समेत रहनुभएका डा रामशरण महतले एमसिसीको बारेमा ब्रिफिङ गर्नुभएको थियो। उहाँले सम्झौता नेपालको हित विपरित नरहेको र विश्वका अन्य ९,१० देशमा पनि कार्यान्वयनमा रहेको बताउनुभएको थियो ।