२५ बैशाख २०८१, मंगलवार

यी हुन् खाली कागजमा हस्ताक्षर गर्न अस्वीकार गर्ने एमालेका पाँच सांसद

uml samsdiya dal

प्रमुख प्रतिपक्ष नेकपा एमालेले आवश्यक पर्न सक्ने भन्दै आफ्ना सांसदहरुको हस्ताक्षर गराएको छ।

सोमबार बसेको एमाले संसदीय दलको बैठकमा हस्ताक्षर संकलन गरेको एमाले प्रमुख सचेतक विशाल भट्टराईले जानकारी दिनुभयो ।

तर एमालेका पाँच सांसदले भने खाली कागजमा हस्ताक्षर गर्न अस्वीकार गरेका छन्। सांसदहरू भीम रावल, घनश्याम भुसाल, झपटबहादुर रावल, पवित्रा निरौला खरेल र दीपकप्रकाश भट्टले खाली कागजमा हस्ताक्षर गर्न अस्वीकार गर्नुभएको हो ।

खाली कागजको फाइलमा हस्ताक्षर गर्न अस्वीकार गरेकामध्ये भीम रावलले लिखितरुपमा नै असहति राख्नुभएको थियो । अन्य चार सांसदले पनि खाली कागजमा हस्ताक्षर गर्न अस्वीकार गरेका हुन्।

हस्ताक्षर गर्न अस्वीकार गरेका सांसद झपट रावलले प्रयोजन थाहा नपाएका कारण हस्ताक्षर नगरिएको बताउनुभयो। प्रतिशोधको राजनीति गर्न नहुने भन्दै उहाँले चित्त नबुझेको कुरा जनतामा भन्नुपर्नेमा जोड दिनुभयो ।

सत्ता गठबन्धनका तीन दल कांग्रेस, माओवादी केन्द्र र एकीकृत समाजवादीका सांसदहरुले आइतबार प्रधानन्याधीश चोलेन्द्रशमशेर जवराविरुद्ध अविश्वासको प्रस्ताव दर्ता गराएपछि त्यसको काउन्टरमा अन्य चार न्यायाधीशविरुद्ध महाभियोग दर्ता गर्न सक्ने नेताहरुले बताउँदै आएका छन्।