१६ बैशाख २०८१, आईतवार

मलाई आयोगबाट नहटाएको भए अहिलेसम्म सुकुमबासीले लालपुर्जा पाइसक्थेः देवी ज्ञवाली

Devi Gyawali
फाइल फोटो

नेकपा एमालेका पोलिटब्युरो सदस्य एवम् चितवन जिल्ला इन्चार्ज देवी ज्ञवालीले भूमी आयोगबाट आफूलाई नहटाएको भए अहिलेसम्म सुकुम्बासीले लालपुर्जा पाइसकेको हुने बताएका छन् ।

आफूहरुले १२ लाखको रेकर्ड तयार गरिसकेको बताउँदै उनले सकुम्बासीलाई लालपुर्जा दिन त्यसलाई प्रमाणित गरिदिने काम गठबन्धन सरकार आएपछि रोकिएको बताए ।

उनले भने ‘गठबन्धन सरकार आएपछि निस्सा दिने काम पालिकाले रोकेको थियो । आफूले प्रमाणित गर्ने काम यहाँ भरतपुर महानगरपालिकाले गरेको थिएन ।

आज आएर हामीलाई केन्द्रबाट फालेर हामीले गरेको कामको निरन्तरता बाहेक केही अरु केही बढाइएको छ ? हामी यतिबेलासम्म सरकारमा भएको भए पूर्जै बाँढि सक्थेम । मलाई नहटाएको भए पनि अहिलेसम्म पुर्जा बाँढिसकिन्थ्यो ।’

अहिले भरतपुर महानगरपालिकाले निस्सा बाँडेर लालपुर्जा बाँडेको हल्ला फिँजाइरहेको ज्ञवालीले बताए । ‘तिम्ले फारम भरेर डकुमेन्ट बुझायौ भनेर निस्सा मात्र बाँडिएको छ’ उनले भने ।

‘म भूमि आयोगको अध्यक्ष हुँदा ७५३ वटा पालिका मध्ये ७४७ वटा पालिकासँग मैले यो काम गर्ने भनेर उनीहरुसँग सम्झौता गरेको थिएँ । देशका १२ लाख परिवारको रेकर्ड तयारी गरेको थिएँ । ९ हजार विघा जग्गाको नापजाँचको कामलाई अगाडि बढाएको थिए ।

यसैका निम्ति प्राविधिक जनशक्ति झण्डै ४०० लाई खटाएको थिएँ । अब यसले पूर्जा बाँड्ने भो भन्ने बित्तिकै नयाँ गठबन्धन सरकारले आफूलाई सबैभन्दा पहिला फाल्यो’ उनले भने ।

आफूले जग लगाइदिएको कामबाट काम सुरु गरेको भए यतिनजेल धेरै मान्छेले पूर्जा पाइसक्ने थिए भन्दै उनले प्रश्न गरे खोइ त अहिलेसम्म पनि एउटा पूर्जा बाँडेको देखिँदैन ?