७ बैशाख २०८१, शुक्रबार

पार्टीले टिकट दिए रेणु दाहाल त के प्रचण्डसँग पनि चुनाव लड्छुः देवी ज्ञवाली

Devi gawali
फाइल फोटो

नेकपा एमालेका पोलिटब्युरो सदस्य एवम् चितवन जिल्ला इन्चार्ज देवी ज्ञवालीले पार्टीले टिकट दिएको खण्डमा आफू जुनकुनै चुनावका लागि पनि तयार रहेको बताएका छन् ।

नेता ज्ञवालीले भने, ‘पार्टीले मलाई पठायो भने म रेनु दाहाल त के प्रचण्डसँगै चुनाव लड्न तयार छु ।’ राजनीतिमा अहोरात्र लागिरहेकाले आफू कुनै पनि चुनावबाट पछि नहट्ने उनले बताए ।

पार्टीका विभिन्न जिम्मेवारी बहन गर्दै यसअघि सांसददेखि मेयरको पनि चुनाव लडेको स्मरण गर्दै उनले अहिले पनि आफू जुनसुकै चुनाव लड्न तयार रहेको बताए । उनले आफूले विगतमा पनि भरतपुर महानगरको चुनाव जितेको तर धाँधली गर्ने र मतपत्र च्यात्ने काम गरिएको स्मरण गरे ।

‘मैले त विगतमा चुनाव जितेकै हो । लुटेर, जालझेल गरेर, गुण्डागर्दी गरेर, मान्छे काटेर आउनेहरुलाई चुनाव जिते भनेर कसरी हामीले विश्वास गर्ने । यो लोकतन्त्रको अपहरण गरेर गरिएको कुरा थियो । त्यो अब इतिहाँसमा लेखि सक्या छ ।’

अब स्वच्छ प्रतिस्पर्धाको राजनीतिबाट, जनताको जनमतबाट, आफ्नो एक्लो तागतबाट चुनाव जितेर देखाउन उनले रेणु दाहालसमक्ष चुनौती प्रस्तुत गरे ।