८ बैशाख २०८१, शनिबार

जबराविरुद्ध दर्ता भएको महाभियोग प्रस्तावमा एमालेले पनि साथ दिने मन्त्री बडुको दाबी

badu Cholendra

कानून, न्याय तथा संसदीय मामिला मन्त्री दिलेन्द्रप्रसाद बडूले प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबराविरुद्ध दर्ता भएको महाअभियोगको प्रस्तावमा प्रमुख प्रतिपक्ष दल नेकपा एमालेले पनि साथ दिने बताउनु भएको छ ।

आज नेपाली कांग्रेस, नेकपा (माओवादी केन्द्र) र नेकपा (एकीकृत समाजवादी) का सांसदहरुले प्रधानन्यायाधीश जबराविरुद्ध संघीय संसद सचिवालय महाअभियोगको प्रश्ताव दर्ता गराएका हुन् ।

सो क्रममा बोल्दै मन्त्री बडूले न्यायालयमा भएको गतिरोध अन्त्यका लागि र संवैधानिक ढंगले न्यायपालिका सुचारु गराउने कुरामा सबै दलले साथ दिने बताउनु भयो ।

उहाँले प्रधानन्यायाधीश जबराले न्यायपाललिका संवैधानिक रुपबाट सञ्चालन गर्न नसकेको भन्दै न्यायपालिकामाथि आउनसक्ने खतरालाई मध्यनजर गरेर महाअभियोगको प्रस्ताव दर्ता गरेको बताउनु भयो ।

मन्त्री बडूले प्रधानन्यायाधीश जबराविरुद्ध संवैधानिक निकास आवश्यक रहेको भन्दै दुई तिहाईले यसलाई समर्थन गर्ने विश्वास व्यक्त गर्नुभयो ।

नेकपा माओवादी केन्द्रका प्रमुख सचेतक देवप्रसाद गुरुङ, नेपाली कांग्रेसकी सचेतक पुष्पा भुसाल र नेकपा (एकीकृत समाजवादी) का प्रमुख सचेतक जीवनराम श्रेष्ठको प्रस्ताव तथा नेपाली कांग्रेसका सांसद मीनेन्द्रप्रसाद रिजाल लगायत गठबन्धनका ९५ जना सांसदको समर्थनमा महाअभियोग प्रस्ताव दर्ता भएको हो ।