१४ बैशाख २०८१, शुक्रबार

कुनै समस्या छैन गठबन्धनमा, तीनै तहको निर्वाचनसम्म कायम रहन्छः नेपाल

madhav nepal
फाइल फोटो

नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले बाहिर हल्ला भए जसरी गठबन्धनमा समस्या नरहेको बताउनुभएको छ ।

वर्तमान गठबन्धन तीनै तहको निर्वाचनसम्म कायम राख्ने विषयमा दलहरु सकरात्मक रहेको अध्यक्ष नेपालको भनाइ छ ।

आइतबार विभिन्न पार्टीका नेता कार्यकर्ताहरूलाई पार्टी प्रवेश गराउँदै अध्यक्ष नेपालले पाँच दलीय गठबन्धन तीनै तहको निर्वाचनसम्म मिलेर जाने विषयमा आइतवार पनि प्रधानमन्त्रीसँग छलफल भएको उहाँले बताउनुभयो ।

यस विषयमा प्रधानमन्त्री तथा काँग्रेस सभापति देउवा सकारात्मक रहनुभएको उहाँको भनाइ छ । ‘पाँच दलीय गठबन्धन मिलेरै जाने आज पनि कुरा भएको छ । यो गठबन्धनलाई बलियो बनाउँदै तीनै तहको चुनावमा हामी जुट्नेछौ’, अध्यक्ष नेपालको भनाइ छ ।

उहाँले एमसीसी नेपाली समाजमा बहस र विवादको विषय बनेको भन्दै जनताको भावना र एमसीसीबारे फैलिएका आशंका निवारण भएपछि अघि बढाउनुपर्नेमा जोड दिनुभयो ।

उहाँले देशको हितमा कुठाराघात नहुने अघि नबढ्ने स्पष्ट पार्नुभयो । नेपाललाई कुनै देशको रणभूमि बनाउन दिने पक्षमा आफूहरु नरहेको उहाँले बताउनुभयो ।