१६ बैशाख २०८१, आईतवार

चार न्यायाधीशविरुद्ध महाअभियोग प्रस्ताव ल्याउने एमालेको तयारी, सांसदलाई काठमाडौं बोलाइयो

Uml New office 1024x538 1

सत्तारुढ गठबन्धनले प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराविरुद्ध छापामार शैलीमा संसदमा महाअभियोग प्रस्ताव दर्ता गरेपछि प्रमुख प्रतिपक्षी दल एमालेले पनि चार न्यायाधीशविरुद्ध महाअभियोग प्रस्ताव दर्ताको तयारी थालेको छ । त्यसका लागि एमालेले सोमबार संसदीय दलको बैठक बोलाएको छ ।

गत वर्षमा २३ फागुनमा एमाले र माओवादी केन्द्री एकीकृत भई गठन भएको नेपाल कम्युनिस्ट पार्टी (नेकपा) खारेज गर्ने फैसला सुनाउने चार वरिष्ठतम् न्यायाधीश दीपककुमार कार्की, मिराकुमारी खड्का, डा. आनन्दमोहन भट्टराई र ईश्वरप्रसाद खतिवडाविरुद्ध संसदमा महाअभियोग प्रस्ताव ल्याउने तयारीमा एमाले लागेको स्रोतले बतायो ।

उनीहरूविरुद्ध महाअभियोग प्रस्ताव ल्याउन सांसदहरूको हस्ताक्षर सुरु गरिएको बुझिएको छ । एमालेले सबै सांसदलाई काठमाडौं बोलाइसकेको छ ।

प्रधानन्यायाधीश जबराविरुद्ध कांग्रेस, माओवादी केन्द्र र एकीकृत समाजवादीले महाअभियोग प्रस्ताव ल्याएपछि त्यसलाई काउन्टर दिन चार न्यायाधीशविरुद्ध महाअभियोग ल्याउन लागिएको हो । जबकि संसदमा पाँच दलको गठबन्धन बहुमतमा भए पनि दुई तिहाइ बहुमत छैन । एमालेसँग पनि दुई तिहाइ बहुमत पुग्ने अवस्था नै छैन ।