
नेपाली काँग्रेसका नेता शेखर कोइरालाले आगामी निर्वाचनमा कुनै दलसँग गठबन्धन नगर्ने पक्षमा आफू रहेको बताउनुभएको छ ।
विहीवार विहान नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाललाई भेट्न दाहाल निवास खुमालटार पुग्नुभएको नेता कोइरालाले काँग्रेसले माओवादी वा अरू कुनै दलसँग गठबन्धन नगर्ने बताउनुभएको हो ।
भेटमा स्थानीय तहको निर्वाचनमा गठबन्धन गरेर सहयोग गर्न अध्यक्ष दाहालले गर्नुभएको आग्रहमा नेता कोइरालाले गठबन्धन कुनै हालतमा नगर्ने आफ्नो स्पष्ट धारणा रहेको छलफलमा सहभागी अर्का नेता अमरेशकुमार सिंहले बताउनुभयो ।
माओवादीसँग गठबन्धन गरेर कांग्रेसलाई कुनै फाइदा नै नरहेको कोइरालाले बताउनुभएको सिंहको भनाइ छ ।
नेता सिंहका अनुसार दाहाल र कोइरालाबीच अमेरिकी सहयोग परियोजना एमसिसीका विषयमा समेत कुराकानी भएको थियो । त्यसक्रममा कोइरालाले एमसिसीको बारेमा राष्ट्रिय सहमति जुटाउन दाहाललाई आग्रह गर्नुभएको थियो ।
कोइरालाले दुई दिनअघि एमाले अध्यक्ष केपी ओलीलाई उहाँको निवास बालकोटमै पुगेर भेटवार्ता गर्नुभएको थियो ।