१४ बैशाख २०८१, शुक्रबार

पेलिएका कोइराला ओलीसँग नजिकिँदै !

KP Oli Sekhar Koirala

सभापति शेरबहादुर देउवाले आफ्नो पक्षलाई पेलेको भन्दै नेपाली कांग्रेसको शेखर कोइराला पक्ष रुष्ट बनेको छ । १४औं महाधिवेशनमा देउवासँग प्रतिस्पर्धा गरेका कोइरालाले पछिल्लो समय बढाएको राजनीतिक सक्रियतालाई अर्थपूर्ण रुपमा हेरिएको छ ।

शेरबहादुर देउवासँग सभापतिमा प्रतिस्पर्धा गरेका शेखर कोइराला अहिले पार्टीभित्र आफूलाई वास्ता नगरिएको भन्दै असन्तुष्ट हुनुहुन्छ । सभापतिका निकटतम प्रतिस्पर्धि रहेकाले महाधिवेशनपछि कोइरालालाई पार्टीको वरिष्ठ नेता बनाउने आशामा रहेको कोइराला पक्ष पार्टीमा वरियता तय हुँदा झस्कन पुग्यो ।

कोइरालाको वरियता २०औं नम्बरमा राखियो । विपक्षी गठबन्धन सँगका छलफल हुन् वा राष्ट्रियसभाको उमेदवार तय गर्दा वेवास्ता गरिएपछि यो पक्ष रुष्ट छ ।

राष्ट्रियसभाको उमेदवार तय र त्यसपछि कर्णाली र प्रदेश १ मा मन्त्रिपरिषद् विस्तारमा संस्थापनपक्षले एकलौटी गरेको कोइराला पक्षको आरोप छ । गुटको बैठकले सभापतिविरुद्ध उभिनुपर्ने निकर्ष निकालेपछि कोइराला अहिले त्यसको तयारीमा जुट्नुभएको छ ।

प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीसँगको भेटलाई सभापति देउवालाई पेलेर अघि बढे चुप नबस्ने सन्देशका रुपमा हेरिएको छ । ओली–कोइराला भेटमा स्थानीय निर्वाचनको विषयमा सकारात्मक कुरा भएको बताइएको छ ।

प्रधानमन्त्री देउवा अहिलेकै सत्ता गठबन्धनको पक्षमा उभिए पनि कोइराला पक्ष भने यही गठबन्धनले निरन्तरता पाउनुपर्छ भन्ने पक्षमा देखिँदैन ।

स्थानीय तहको निर्वाचनमा आफू निकट उपेक्षामा पर्नसक्ने त्रासमा कोइराला पक्ष छ । चुप बसे पार्टीभित्र थप पेलान हुने भन्दै कोइराला सभापति देउवाले वेवास्ता गरे स्थानीय निर्वाचनमा एमालेसँग सहकार्य गर्नसक्ने सन्देश दिन ओली भेट्न पुगेको देखिन्छ ।

अरु दलहरुसँगको छलफललाई प्राथमिकता दिइरहँदा देउवाले पार्टीभित्रैका प्रतिपक्षीलाई नजरअन्दाज गरेको आरोप छ । देउवाले कोइराला गुटलाई वेवास्ता गरिरहे स्थानीय निर्वाचनमा हुने गठबन्धनमा कांग्रेसभित्र विद्रोह हुनसक्ने र त्यस्तो अवस्थामा ओली– कोइराला तालमेलको सम्भावना नकार्न नसकिने जानकारहरु बताउँछन् ।

राजनीति सम्भावनाहरुकै खेल हो । कोइराला पक्षले ओलीसँगको भेटलाई देउवा तर्साउने कार्डका रुपमा प्रयोग गर्छ वा साँच्चै पार्टीभित्र विद्रोह गरेर ओलीसँग तालमेलसम्म पुग्न सक्छ ? चासोका साथ हेरिएको छ ।