१७ असार २०७९, शुक्रबार

मल कारखाना नेपालमा, अन्याेल कुन प्रविधि प्रयोग गर्ने भन्नेमा

dbcb factory

रासायनिक मल कारखाना सञ्चालन तीन विदेशी कम्पनीले लगानी प्रस्ताव गरेका छन् । छिमेकी मुलुक भारतसहित बेलायत र जर्मनीका कम्पनीले मल कारखाना खोल्न प्रस्ताव पेश गरेको लगानी बोर्डका सूचना अधिकारी रमेश अधिकारीले बताउनुभयो ।

सरकारले नेपालमै मल कारखाना खोल्न अध्ययन गरिरहेको बेला यस्तो प्रस्ताव आएको अधिकारीले बताउनुभयो । जर्मनीको डीआईएजी, भारतको ईएक्स आईएन र बेलायतको इन्फालिङस् नामक कम्पनीले मल कारखानामा लगानी गर्न प्रस्ताव गरेको उहाँको भनाइ छ ।

‘प्राकृतिक ग्याँस वा विद्युत् कुन प्रविधिमा आधारित उद्योग खोल्ने भन्ने बहस र अध्ययन भइरहेको बेला तीन कम्पनीबाट प्रस्ताव आएको छ, हामी अध्ययन गर्दैछौं,’ अधिकारीले भन्न्भयो ।

रासायनिक मलको चरम अभाव भएपछि नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली सरकारको पालामा २०७७ कात्तिक १४ गते बसेको मन्त्रिपरिषद्को बैठकले स्वदेशमै मल कारखाना खोल्नेबारे अध्ययन गर्न उच्चस्तरीय समिति गठन गरेको थियो ।

समितिले ४० प्रतिशत निजी, विदेशी ४० प्रतिशत र २० प्रतिशत सरकारी लगानीमा कारखाना खोल्न सकिने जनाएको थियो। मल कारखानाबारे थप अध्ययन गर्ने भन्दै आर्थिक वर्ष २०७८÷७९ को बजेटले नेपालमा मल कारखाना खोल्ने र यसका लागि थप अध्ययन गर्ने नीति लिएको थियो ।

प्रविधिमा अन्योल

मल कारखाना खोल्नेबारे सरकारले पहल थालेसँगै बाह्य लगानीकर्ता उत्सुक देखिए पनि मल कारखानाको प्रविधिको अन्योल भने कायमै रहेको छ ।

गतवर्ष तत्कालीन अर्थमन्त्री विष्णुप्रसाद पौडेल संयोजकत्वको कार्यदलले नेपालमा रासायनिक मल कारखाना खोल्न सकिने तर तत्कालका लागि विद्युतीय प्रविधि कठिन रहेको प्रतिवेदन प्रधानमन्त्रीलाई बुझाएको थियो ।

ग्याँसको सहजता र कम लागतमा कारखाना खोल्न प्राकृतिक ग्यासमा आधारित प्रविधि नै उत्तम विकल्प भएको कार्यदलको निष्कर्ष थियो तर नेपालमा बिजुलीको पर्यप्ततासँगै आयातित प्राकृतिक ग्याँस भन्दा बिजुलीमा आधारित प्रणालीमा जोड दिन तत्कालीन प्रधानमन्त्रीले ओलीले कार्यदललाई निर्देशन दिएपछि यो विषय अझै टुङ्गिएको छैन ।

मल कारखानाको प्रविधि कुन हुने भन्ने निश्चित नभई लगानी प्रस्तवा आए पनि व्यर्थ हुने अवस्था रहेको बोर्डले जनाएको छ ।

यता कृषि तथा पशुपंक्षी विकास मन्त्रालयका पूर्व सचिव कृष्णप्रसाद आचार्यले नेपालमा अहिले नै रासायनिक मल कारखाना स्थापना गर्न समस्या रहेको बताउनुहुन्छ ।

नेपालमा प्राकृतिक ग्याँसको अभाव रहेको र बाहिरी देशमा निर्भर रहनुपर्ने भएका कारण प्राकृतिक ग्याँसबाट मल उत्पादन गर्न गाह्रो पर्ने उहाँको तर्क छ । ‘नेपालमा प्राकृतिक ग्याँस छैन यसकारण विदेशी राष्ट्रको भर पर्नुपर्ने हुन्छ । यसो गर्दा विदेही राष्ट्रबाट ल्याउँदा नै महँगो पर्न जान्छ ’उहाँले भन्नुभयो ।

प्रविधिको अभाव रहेकाले जलविद्युतबाट पनि सम्भावना न्यून रहेको उहाँ बताउनुहुन्छ । ‘नेपालमा मल कारखानाका लागि जलविद्युत् त पुग्ला तर प्रविधिको भने अभाव छ यसकारण यो पनि तत्कालाई गाह्रो हुन्छ,’ आचार्य भन्नुहुन्छ । बरु भारतसँग छलफल गरेर प्राकृतिक ग्याँस आयात गर्न सहिने उहाँको तर्क छ ।

कुन मलकाे माग कति ?

नेपालमा विशेषगरी डिएपी र युरिया मलको बढी खपत हुन्छ । विश्वका अन्य देशमा युरियाको मलको उत्पादन गर्न समुन्द्रको नजिक मल कारखाना स्थापना गरिएको हुन्छ । जसले गर्दा आयात र उत्पादन लागत कम लाग्ने गरेको उहाँ सुनाउनुहुन्छ । चाइना,रुस जस्ता देशले यहि विधि अवलम्बन गरेका छन् ।

डिएपी मल उत्पनदनका लागि सल्फर र नाइट्रोजन बढी भएको ठाउँमा सम्भव हुने उहाँ बताउनुहन्छ । २२– २३ प्रतिशत भन्दा कम सल्फर भएको ठाउँका डिएपी मल उत्पादन गर्न समस्या हुने आचार्य बताउनुहुन्छ । नेपालमा सल्फरको मात्रा सात–आठ प्रतिशत मात्र रहको छ ।

नेपालमा वार्षिक साढे सात लाख मेट्रिक टन रासायनिक मलको माग रहेको कृषि तथा पशुपंक्षी विकास मन्त्रालयले जनाएको छ ।

    सम्बन्धित समाचार...