१४ बैशाख २०८१, शुक्रबार

किन यति धेरै फरक प्रचण्डको भनाइ र गराईमा ?

sthai kamiti baithak maoist scaled
फाइल फोटो

माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको भनाइ र गराई फरक छ । त्यसैले उहाँलाई ‘दुई जिब्रे’ भएको आरोप लाग्दै आएको छ । अमेरिकी सहायता परियोजना (एमसीसी) प्रकरणमा पुनः अध्यक्ष प्रचण्डको ‘दुई जिब्रे’ चरित्र उदांगो भएको छ ।

गत कार्तिक १८ गते प्रधानमन्त्री शेरबहादुर देउवाले अमेरिकी सहयोग परियोजना (एमसीसी)का विषयमा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँगै आफूले अमेरिकालाई पत्र पठाएको खुलासा गर्नु भयो ।

संसदबाट अनुमोदन गर्न आफूहरु प्रतिबद्ध रहेको र त्यसका लागि चारपाँच महिनाको समय दिन आग्रहसहितको पत्र एमसीसीलाई पठाएको प्रधानमन्त्री देउवाको भनाइ थियो ।

तर प्रधानमन्त्री देउवाले एमसीसीलाई पत्र पठाएको सार्वजनिक अभिव्यक्ति दिएपछि माओवादी अध्यक्ष प्रचण्डले भने पारित गर्ने म्याद थपका लागि पत्राचार नगरिएको दाबी गर्नुभयो ।

बरु उहाँले सबै दलसँग छलफल नगरी, राष्ट्रिय सहमति नबनाई पारित गर्न नसकिने भएकाले त्यसका लागि समय चाहिने ब्यहोराको पत्र पठाएको दाबी गर्नुभयो ।

तर एमसीसी आफैले देउवा र प्रचण्डले पठाएको संयुक्त पत्र सार्वजनिक गरिदिएपछि भने प्रचण्डको झुट उदांगो भएको छ । देउवासँगको संयुक्त पत्रमा प्रचण्डले कतै पनि संशोधनका लागि समय माग्नु भएको छैन ।

बरु राष्ट्रिय स्रोत साधन परिचालन गरेर एमसीसी बारेका आशंका निवारण गर्न लागिपर्ने प्रतिबद्धता व्यक्त गर्नु भएको छ । उहाँले आफू पुरै एमसीसीको पक्षधर भएको दोहोर्याउँदै पार्टीका नेतादेखि अन्य दल र आम नागरिकलाई कन्भिन्स गर्ने समयको माग गर्नु भएको छ ।

पत्र सार्वजनिक भएसँगै दाहालको झुटको पर्दाफास मात्रै भएको छैन उहाँको दोहोरो चरित्र पुनः एक पटक उदांगो भएको छ । छेपारोले रंग फेरेभन्दा बढी बोली फेर्न माहिर प्रचण्ड आफ्नो प्रतिबद्धतामा कत्ति अडिग रहनुहुन्न भन्ने समेत पुन एकपटक प्रमाणित भएको छ ।

पार्टीका नेता परिचालन गरेर संशोधनको डंका पिट्ने तर अमेरिकालाई गोप्य पत्राचार गर्ने शैलीले उहाँले नागरिकमाथि कति घात गर्न सक्नु हुन्छ भन्ने प्रश्नसमेत तेर्स्याएको छ ।

प्रचण्डले एमसीसीसँग प्रतिबद्धता जनाएर पत्र पठाएको विषयमा एमसीसी विवाद समाधानका लागि सरकारले गठन गरेको तीन सदस्यीय कार्यदलका सदस्य एवं माओवादी केन्द्रका नेता नारायणकाजी श्रेष्ठसँग जिज्ञासा राख्दा यस विषयमा आफूलाई जानकारी नभएको र अध्यक्ष प्रचण्डसँगै बुझ्न आग्रह गर्नुभयो ।

नेता श्रेष्ठले बोल्न इन्कार गरेपछि हामीले अर्का नेता लिलामणि पोखरेलसँग यस विषयमा जिज्ञासा राख्यौं ,उहाँले आफू व्यस्त रहेको बताउनु भयो ।

दाहाल अस्थिर मनस्थितिका व्यक्ति भएको भन्दै उहाँको आलोचना त भइनै रहेको छ तर अन्तर्राष्ट्रिय मुद्दामा समेत उहाँको ढुलमुले चरित्रले राष्ट्रकै छविमा प्रश्न खडा भएको परराष्ट्र मामिलाका जानकार बताउँछन् ।

एमसीसी प्रकरणमा अध्यक्ष प्रचण्डको दोहोरो चरित्र उदांगो भएको पछिल्लो घटना मात्रै हो, प्रचण्डमा बोलि फेर्ने रोग पुरानै हो । जिम्मेवार नेता भएर पनि अडानमा भन्दा क्षणिक फाइदाका लागि बहकिने प्रवृतिले राष्ट्रिय सरोकारका कतिपय मुद्दाहरु कमजोर बनेका छन् ।