१६ चैत्र २०८०, शुक्रबार

केही नेताले अमेरिकातिर फर्केर एउटा र नेपालतिर फर्केर अर्को कुरा गरे एमसीसीबारे: प्रदिप ज्ञवाली

pradip gyawali
फाइल फोटो

नेकपा एमालेका उपमहासचिव तथा पूर्वपरराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले एमसीसी सम्झौताबारे सार्वभौम ससंदमा छलफल हुनुपर्ने बताउनुभएको छ । उहाँले एमसीसी सम्झौताबारे जनतालाई यथार्थ जानकारी दिन पनि संसदमा पेस गरेर छलफल हुनुपर्ने बताउनुभयो ।

प्रेस चौतारी रुपन्देहीले बुटवलमा आज आइतवार बुटवलमा आयोजना गरेको पत्रकार भेटघाटमा उपमहासचिव ज्ञवालीले एमसीसीको विषयलाई सभामुखले संसदमा आउने ढोका बन्द गर्न नहुने भन्दै यसलाई अनुमोदन गर्ने वा नगर्ने भन्ने विषय सार्वभौम संसदमा छलफल हुनुपर्ने बताउनुभयो । उहाँले सदनमा एमसीसीले प्रवेश पाएपछि मात्र एमालेले आफ्नो धारणा सार्वजनिक गर्ने स्पष्ट पार्नुभयो ।

नेता ज्ञवालीले एमसीसी सम्झौताका विषयमा सरकार र सत्ता गठबन्धनका केही नेताले गिजोल्ने काम गरिरहेको उल्लेख गर्दै पाँच महिनासम्म समय मागेर अहिले अन्योल सिर्जना गर्नु अन्तर्राष्ट्रिय जगतमा नेपालको विश्वसनीयतासमेत सङ्कटमा पार्ने काम भएको बताउनुभयो । उहाँले भन्नुभयो, ‘अमेरिकातर्फ फर्केर एउटा कुरा र नेपालतर्फ फर्केर अर्को कुरा गर्ने दोहोरो चरित्र देखियो ।’

उहाँले एमसीसी सम्झौता गर्दा तत्कालीन अवस्थामा पनि वर्तमान प्रधानमन्त्री शेरबहादुर देउवाकै नेतृत्वमा कांग्रेस–माओवादी संयुक्त सरकार रहेको भन्दै अहिले एमसीसीलाई टुङ्गोमा पुर्‍याउने काम यो गठबन्धनको जिम्मेवारी भएको बताउनुभयो ।