१५ चैत्र २०८०, बिहीबार

को को बन्दैछन् प्रदेश १ का सात मन्त्री ? आजै सपथ

prades 1 New ministers

प्रदेश १ का मुख्यमन्त्री राजेन्द्रकुमार राईले आज मन्त्रिपरिषद् विस्तार गर्दैछन्। मुख्यमन्त्रीमा नियुक्ति भएको तीन महिनापछि राईले मन्त्रालय थप गरी सरकार विस्तार गर्न लागेका हुन्। नवनियुक्त मन्त्रीहरुलाई आज बिहान ११ बजे शपथग्रहण गराउने कार्यक्रम तय भएको छ।

मन्त्रीका आकांक्षी धेरै भएपछि सात मन्त्रालय रहेको प्रदेश १ मा मन्त्रालयको संख्या १३ पुरेयाइएको छ । मुख्यमन्त्री राईले सत्तारूढ दलहरूबाट मन्त्री नियुक्त गर्ने तयारी गर्नुभएको हो । 

प्रदेश १ मा नेपाली कांग्रेसबाट ५, नेकपा (एकीकृत समाजवादी) बाट मुख्यमन्त्रीसहित ४, नेकपा माओवादी केन्द्रबाट ३, जसपाबाट १ र संघीय लोकतान्त्रिक मञ्चबाट एक जना मन्त्री बन्ने भएका छन् ।

नेपाली कांग्रेसबाट शेखरचन्द्र थापा, ओमप्रकाश सरावगी र प्रतापप्रकाश हाङगाम, नेकपा माओवादी केन्द्रबाट झलकबहादुर मगर र रामकुमार राई, एकीकृत नेकपा समाजवादीबाट उपेन्द्रप्रसाद घिमिरे र खिनु लङवा लिम्बु मन्त्री बन्ने निश्चित भएको छ।

उनीहरूले सम्हाल्ने मन्त्रालय टुंगो लाग्न बाँकी रहेको श्रोतको भनाई छ। प्रदेश सरकारले ७ वटा बाट बढाएर १२ वटा मन्त्रालय पुर्‍याएको छ। अब कायम हुनेमा मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, आन्तरिक मामिला तथा कानुन मन्त्रालय, आर्थिक मामिला तथा योजना मन्त्रालय, सडक पूर्वाधार तथा सहरी विकास मन्त्रालय, खानेपानी, ऊर्जा तथा सिँचाइ मन्त्रालय, सामाजिक विकास मन्त्रालय, स्वास्थ्य मन्त्रालय, वन, वातावरण तथा भूसंरक्षण मन्त्रालय, उद्योग, श्रम तथा रोजगार मन्त्रालय, पर्यटन तथा संस्कृति मन्त्रालय, भूमि, सहकारी तथा यातायात व्यवस्था मन्त्रालय र कृषि तथा पशुपक्षी विकास मन्त्रालय रहेका छन्।

१२ मन्त्रालय मध्ये एकीकृत नेकपा समाजवादीलाई मुख्यमन्त्रीसहित तीन, नेपाली कांग्रेसलाई पाँच, नेकपा माओवादी केन्द्रलाई तीन, जनता समाजवादी पार्टीलाई एक र एक मात्र सांसद रहेको संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चको भागमा एक राज्यमन्त्री हुने छ।

गत कात्तिक १६ गते एकीकृत नेकपा समाजवादीबाट मुख्यमन्त्रीमा राई, नेपाली कांग्रेसबाट आन्तरिक मामिला तथा कानुन मन्त्रीमा केदार कार्की र भौतिक पूर्वाधार विकास मन्त्रीमा हिमाल कार्की, नेकपा माओवादी केन्द्रबाट आर्थिक मामिला तथा योजना मन्त्रीमा इन्द्रबहादुर आङ्वो, जनता समाजवादी पार्टीबाट सामाजिक विकास मन्त्रीमा जयराम यादव र सामाजिक विकास राज्य मन्त्रीमा विष्णुमाया तुम्बाहाम्फे नियुक्त भएका थिए। उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालय र भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्रालयमा मन्त्री नियुक्त गरिएको थिएन।

प्रदेश सरकारले सामाजिक विकास, उद्योग, पर्यटन, वन तथा वातावरण, भूमि व्यवस्था कृषि तथा सहकारी र भौतिक पूर्वाधार विकासलाई टुक्राएर ९ वटा मन्त्रालय बनाएको छ।