१३ बैशाख २०८१, बिहीबार

कोकिलाको नामले परिचित गायिका लता मंगेशकरको निधन

Lata Mangeshkar

चर्चित भारतीय वरिष्ठ गायिका लता मंगेशकरको निधन भएको छ। २८ सेप्टेम्बर १९२८ मा जन्मिएकी उनको ९२ वर्षको उमेरमा निधन भएको हो।

कोकिलाको नामले परिचित लता मंगेशकरको मुम्बईको ब्रीच क्याण्डी अस्पतालमा आज बिहान उनको निधन भएको भारतीय सञ्चारमाध्यमले जनाएका हुन् ।

लताको निधन भएको शिवसेना सांसद सञ्जय राउतले ट्वीट गर्दै यो जानकारी दिएका छन् । कोभिड–१९ पोजेटिभ देखिएपछि उनलाई जनवरी ८ मा मुम्बईको ब्रीच क्यान्डी अस्पतालमा भर्ना गरिएको थियो। अघिल्लो दिन उनको स्वास्थ्य बिग्रिएपछि उनलाई आईसीयूबाट भेन्टिलेटरमा राखिएको थियो । आइतबार बिहान अस्पतालमा उनले अन्तिम सास लिएकी थिइन ।

शिवसेना सांसद सञ्जय राउतले ट्वीट गर्दै प्रसिद्ध गायिका लता मंगेशकरको निधन भएको जानकारी दिए । यसअघि शनिबार लता मंगेशकरको स्वास्थ्यमा सुधार आएपछि उनलाई भेन्टिलेटरबाट आईसीयूमा सारिएको जानकारी चिकित्सकहरुले दिएका थिए ।

भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले लताको निधनले भारतलाई अपूरणीय क्षति पुगेको भन्दै शोक व्यक्त गरेका छन् ।

लताले ८ दशक सांगीतिक करियरका क्रममा विभिन्न ३६ भाषाका ५० हजार बढी गीत गाइसकेकी छिन्। उनले केही नेपाली गीतहरु पनि गाएकी छिन् ।

सन् २००१ मा उनलाई भारतको सबैभन्दा प्रतिष्ठित विभुषण भारत रत्नबाट सम्मानित गरिएको थियो । उनको राष्ट्रिय सम्मानका साथ अन्त्येष्टि गर्ने तयारी भैरहेको सञ्चारमाध्यमहरुले जनाएका छन् ।