२१ बैशाख २०८१, शुक्रबार

अपडेट: मुलुकका विभिन्न जिल्लामा भएका दुर्घटनामा १६ जनाको निधन

puthan jeep accident

मुलुकका विभिन्न जिल्लामा भएका सवारी दुर्घटनामा आज १६ जनाको निधन भएको प्रहरी प्रधान कार्यालयले जनाएको छ ।

प्रहरीका अनुसार प्युठान, सुनसरी, सिरहा, रुपन्देही, स्याङ्जा र धादिङमा भएका छुट्टाछुट्टै दुर्घटनामा उनीहरूको ज्यान गएको हो । प्युठानको गौमुखी गाउँपालिका–६ ओखरपाटा भन्ने स्थानमा विवाहको दुलही लिएर फर्कँदै गरेको ग १ ज ५०९२ नम्बरको जिप सडकबाट १५० मिटर तल खसेर आज बिहान भएको दुर्घटनामा ८ जनाको निधन भएको छ ।

प्रहरीका अनुसार ६ जनाको घटनास्थल मै र २ जनाको जिल्ला अस्पतालमा उपचारको क्रममा निधन भएको हो । दुर्घटनाका पाँच घाइते भएकामध्ये २ जनाको जिल्ला अस्पतालमा उपचार भइरहेको र र तीनजनालाई थप उपचारको लागि बुटबल पठाइएको छ ।

यता सुनसरीको भोक्राहा नरसिहं गाउँपालिका–३ खुनिया पुलस्थित सडकमा ना ८ ख ८४९३ नम्बरको बस र ना २ ख २९९६ नम्बरको ट्रक गएराति एकआपसमा ठक्कर खाई दुर्घटना हुँदा तीनजनाको निधन भएको छ ।

उक्त दुर्घटनापश्चात आगलागी भएको र त्यसमा परेर उनीहरूको निधन भएको प्रहरीले जनाएको छ । दुर्घटनामा घाइते भएका २७ जनाको सुनसरी र विराटनगरको विभिन्न अस्पतालमा उपचार भइरहेको छ ।

यस्तै सिरहा, गोलबजार नगरपालिका–४ स्थित सडकमा ना १ ज ५९१२ नम्बरको गाडीको ठक्करबाट मिर्चैया नगरपालिका–६ बस्ने ४५ वर्षीय ब्रह्मदेव ठाकुरको निधन भएको छ ।

रुपन्देही, तिलोत्तमा नगरपालिका–९ स्थित सडकमा लु ३७ प ६३५१ नम्बरको स्कुटर आफैँ अनियन्त्रित भई दुर्घटना हुँदा स्कुटर चालक सोही नगरपालिका–१५ कोटिहवा बस्ने २४ वर्षीय सुशान्त बस्यालको निधन भएको छ ।

स्याङजा, विरुवा गाउँपालिका–३ धोवादीस्थित भित्री सडकमा ग १ ज ५९३९ नम्बरको जिप सडकदेखि अन्दाजी ५०० मिटर तल खसेर आज दुर्घटना हुँदा २ जनाको घटनास्थलमै निधन भएको प्रहरीले जनाइएको छ ।

धादिङको धुनिवेशी नगरपालिका–१ बन्चरेस्थित सडकमा प्र३–०१–००३ क ७२५५ नम्बरको जेसिबी आफैँ अनियन्त्रित भई सडकबाट अन्दाजी ४० मिटर तल खोल्सामा खसेर भएको दुर्घटनामा पहिचान नखुलेका एक व्यक्तिको निधन भएको छ ।