१३ बैशाख २०८१, बिहीबार

हलचल-भागबण्डामा कुरा नमिल्दा गठबन्धनमा: माओवादीमा विवाद, किचलो कर्णालीमा

karnali sarkar

कर्णाली प्रदेको मन्त्रिपरिषदले ३ महिनापछि पूर्णता पाउने संकेतसँगै गठबन्धनमा हलचल मचिएको छ । एकातिर मन्त्रालय भागबण्डामा कुरा नमिल्दा गठबन्धन नै संकटमा परेको छ भने अर्कोतिर माओवादी नेतृत्वले फौजदारी अभियोग लागेका गैरसांसदलाई मन्त्रीका लागि सिफारिस गरेपछि विवाद बढेको छ । यस्तो अवस्थामा मुख्यमन्त्री जीवनबहादुर शाहीले मन्त्री परिषद्लाई पूर्णता दिन सक्नु होला त ?

आइतबार जसरी पनि मन्त्रिपरिषद् विस्तार गर्ने मुख्यमन्त्री जीवनबहादुर शाहीको संकल्प पूरा हुने छाँटकाँट छैन । तीन मन्त्रालय भागमा पाएको माओवादी केन्द्रले गैर सांसद त्यो पनि फौजदारी मुद्दा खेपेका हुम्लाका कार्चेन लामालाई प्रस्ताव गरेकोमा व्यापक आलोचना भइरहेको छ । यो विषयले माओवादी पार्टीभित्रै विवाद बढेको छ । मुख्यमन्त्री शाही भने अदालतले नैतिक पतन भएको व्यक्ति भने मात्र कार्चेन लामालाई मन्त्री बन्न रोक लगाउने तयारीमा हुनुहुन्छ ।

एकीकृत समाजवादीलाई दुईवटा मन्त्रालय त्यो पनि मालदार नभएकाले चित्त बुझेको छैन । एकीकृत समाजवादीको भागमा दुई तथा माओवादी केन्द्रलाई तीन र कांग्रेसले मुख्यमन्त्रीसहित तीन मन्त्रालय पाउनेगरी वैशाख २ मा गठबन्धनबीच सहमति भएको थियो । तर, मुख्यमन्त्री शाहीले मन्त्रालय फोरेर बनाएको आठौं मन्त्रालयमा माओवादी केन्द्र र एकीकृत समाजवादीले दाबी गरेका छन् ।

गठबन्धनभित्रको लामो रस्साकस्सीका बीच मुख्यमन्त्री शाहीले आइतबार जसरी पनि मन्त्रिपरिषद विस्तार गर्न सक्रिय हुनुभएको छ । गठबन्धनको भविष्य भन्दा पनि कर्णालीको विकासका लागि मन्त्रिपरिषद् तत्काल विस्तार गर्नु परेको उहाँको भनाइ छ ।

माओवादीबाट मुख्यमन्त्री बनिसकेका महेन्द्रबहादुर शाही कांग्रेसले नै मन्त्रीपरिषद विस्तारमा चासो नदेखाएको आरोप लगाउनुहुन्छ । मन्त्रालय भागवण्डाका विषयमा गठबन्धनभित्र सहमति भए तीनवटा मन्त्रालयमै चित्त बुझाउने खालको धारणा मा‌ओवादी संसदीय दलका नेता शाहीको छ । गठबन्धन सरकार निर्माणमा वैशाख २ गतेको सहमतिअनुसार पटक पटक छलफल भइरहेको छ ।

हाल कर्णाली प्रदेश सभामा माओवादी केन्द्रका १२, नेपाली कांग्रेसका ६, नेकपा एकीकृत समाजवादीका ३, एमालेका सभामुख सहित १३ र राप्रपाका १ गरी ३५ जना सांसद छन् ।

पछिल्लो तीन महिनादेखि तीन जना मन्त्री लिएर मुख्यमन्त्री शाहीले सरकार घिसारिरहनु भएको छ । अझैसम्म पनि गठबन्धन र गठबन्धनका दलहरुको आन्तरिक विवाद जारी नै रहेका बेला मुख्य मन्त्रीले आइतबार मन्त्रिपरिषद्लाई पूर्णता दिन सक्नु होला त ?