८ बैशाख २०८१, शनिबार

देशव्यापी जनपरिचालन गर्ने चेतावनी: पोखरेल

Ishor pokhrel

नेकपा एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले सत्ता गठबन्धनले संविधान उल्लंघन गर्ने प्रयास गरिरहेको आरोप लगाएका छन्।

प्रेस चौतारी नेपालको स्थापना दिवसको सन्दर्भमा शनिबार काठमाडौंमा आयोजित कार्यक्रममा नेता पोखरेलले सत्ता गठबन्धनलाई मुलुकको आर्थिक विकास र समृद्धिका एजेन्डासँग कुनै मतलब नभएको टिप्पणी गरेका हुन्।

सत्ता गठबन्धनको मूल उद्देश्य एमालेलाई कसरी समाप्त पार्ने भन्ने मात्रै भएको आरोप लगाए। ‘यो गठबन्धन विशुद्ध एमाले समाप्त गर्नुपर्छ भन्ने विषाक्त उद्देश्यले बनेको छ,’ पोखरेलले भने, ‘हामी संघीयताको बलियो कार्यान्वयन चाहन्छौं। तर, यो गठबन्धनमा संघीयताको ‘स’ समेत सुन्न नचाहनेहरू पनि छन्।’

यस्तै पोखरेलले ‘श्रीमानले बनाएको सरकार’ले स्थानीय तहको निर्वाचन समयमै नगराए जनपरिचालन गर्ने चेतावनी पनि दिएका छन्। ‘श्रीमानले बनाएको सरकारले संविधानमा किटानी गरिएको व्यवस्थालाई उल्लघंन गर्ने धृष्टता गर्दै छ,’ पोखरेलले भने, ‘कानुनलाई उल्लघंन गर्ने धृष्टता गर्दै छ। स्थानीय तहको निर्वाचन कानुनमा तोकिएको समयभित्रै भएन भने त्यसको विरुद्धमा देशव्यापी रूपमा जनपरिचालन हुन्छ।’