१४ बैशाख २०८१, शुक्रबार

नेपालमाथि चीनको कोभिड बहानामा अघोषित नाकाबन्दी !

Rasuwa gadhi

कोभिडको बहानामा चीनले सडक नाका हुँदै आएको समान आयात–निर्यात व्यापार निरुत्साहित गरेको छ । यसलाई व्यापारीहरुले अघोषित नाका बन्दीको संज्ञा दिएका छन् । चिनियाँ नीति कठोर बन्दा साना व्यवसाय एवं उद्योग बन्द हुनुका साथै बजार महंगी समेत बढ्न गएको छ ।

भूभाग जोडिएको हिसावले नेपालले भारत र चीनबाट आर्थिक कारोवार गर्दछ । अझ लत्ता कपडा, जुत्ता, विद्युतीय सामग्री जस्ता वस्तु भारतभन्दा चीनतर्फबाट ल्याउँदा सस्तो पर्ने र दुरीको हिसावले पनि व्यापारीहरु चिनियाँ नाका नै बढी प्रयोग गर्दछन् ।

तर पछिल्लो समय कोरोना संक्रमणको जोखिमलाई देखाउँदै चीनले लामो समयदेखि लगाएको एकपक्षीय नाकाबन्दीले साना तथा मझौला उद्यमी एवं व्यवसायीहरु प्रभावित बनेका छन् । जसको अहिले बिरोध भैरहेको छ ।

नेपाल राष्ट्रिय व्यवसायी महासंघका अध्यक्ष नरेश कटुवालले नेपाल सरकारले चीनसँग उच्चस्तरीय कूटनीतिक वार्ता गर्न नसक्दा खरिद गरेर ल्याइसकेको कतिपय माल सामान समेत नाकामै थन्किएर कुहिने र म्याद गुज्रिएको अवस्थामा पुगको बताउनुभयो । यसले अप्रत्यक्ष रुपमा महंगीलाई बढाएको उहाँको भनाइ छ ।

अध्यक्ष कटुवालका अनुसार यता साना तथा मझौला उद्योगीहरु कच्चा पदार्थ भन्सारमै थन्किँदा थप सामान उत्पादन गर्न सकेका छैनन् ।

कोरोनाले बल्ल बल्ल सञ्चालनमा आएका उद्योेग पनि नियमित हुन नपाउनु , उत्पादित सामानले बजार नपाउनु र सरकारले दिने भनेको सहुलियत ऋण वाणिज्य बैंकहरुले कार्यान्वयनमा नल्याउनु जस्ता कारणले पलायन हुन बाध्य भएको व्यवसायीको गुनासो छ ।

नेपालमा कोरोना भाइरस संक्रमण बढ्नुअघि दैनिक ३० देखि ४० कन्टेनर मालसामान नेपालतर्फ आउने र निर्वाध रुपमा नेपाली वस्तु चीनतर्फ जाने गरेकोमा हाल चीनले नेपाली कुनै पनि वस्तु चीन प्रवेश गर्न दिएको छैन ।

यता नेपालतर्फ पनि चर्को ढुवानी शुल्क लिएर सिमित सामान मात्र प्रवेश गर्न दिएको छ । त्यससँगै साना व्यवसायीले बैंक तथा वित्तीय संस्थामा छाएको तरलता संकटले कर्जा रकम समयमा नपाएको, पसल कवलको भाडा बढ्नु र कोरोनाले बजार चलायमान नहुँदा व्यवसायमा टिक्नै गाह्रो भएको बताएका छन् ।