२३ बैशाख २०८१, आईतवार

हतियार एमसीसीलाई बनाएर गठबन्धन तोड्ने दुष्प्रयास पुनः असफल : प्रचण्ड

prachanda1643889677

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले संसदीय निर्वाचनसम्मै पाँच दलीय गठबन्धन कायम रहने बताउनुभएको छ ।

विहीवार कर्णाली प्रदेशको विस्तारित बैठक र प्रशिक्षण कार्यक्रमलाई भर्चुअल रुपमा सम्बोधन गर्दै अध्यक्ष दाहालले एमसीसीका कारण गठबन्धन नटुट्ने दाबी गर्नुभएको हो ।

एमसिसी पारित गर्ने विषयमा गठबन्धनभित्र मतान्तर बढ्न थालेको हल्ला चलिरहेको बेला अध्यक्ष दाहालले पाँच दलीय मोर्चा कायमै रहने बताउनुभएको हो । यसअघि बुधबार एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले पनि गठबन्धन कायमै रहने दाबी गर्नुभएको थियो ।

दाहालले बाहिर हल्ला गरिए जसरी गठबन्धन तत्काल नटुट्ने दाबी गर्दै संसदीय निर्वाचन गठबन्धन गरेरै जाने सहमति भएको बताउनुभयो ।

एमसिसीबारे गठबन्धनमा फरक–फरक धारणा व्यक्त भइरहेको उहाँले स्वीकार गर्नुभयो ।गटबन्धनका एउटा पक्ष एमसीसी पारित गरिहाल्नुपर्छ भन्नेमा भएको तर आफूहरु परिमार्जनसहित पारित गर्नुपर्छ भन्ने पक्षमा रहेको अध्यक्ष दाहालले प्रष्ट पार्नुभयो । तर जे गरे पनि सल्लाहबाटै अघि बढ्ने उहाँको भनाइ थियो ।

एमसीसीलाई हतियार बनाएर गठबन्धन तोड्ने, राजनैतिक वातावरण बिगार्ने र प्रतिगमनमा देशलाई लैजाने षड्यन्त्र भैरहेको बताउदै उहाँले त्यसलाई पुनः एकपटक असफल बनाएको जिकिर गर्नुभयो ।