१५ बैशाख २०८१, शनिबार

ढाकछोप ओलीको

oli 1

बेलायती प्रधानमन्त्री बोरिस जोन्सनले कोरोना महामारीका बेला भोजमा सहभागी भएको विषयमा आलोचना भएपछि माफी माग्नु भयो । बेलायती प्रधानमन्त्री जोन्सनले सार्वजनिक रुपमा माफी मागेको उदाहरण रहेपनि हाम्रा नेताहरु भने संक्रमित हुँदासमेत सार्वजनिक स्थालमा जान्छन् ।

नेकपा एमालेका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले माफी माग्नु त कता हो कता उहाँका समर्थक उल्टै ढाकछोपमा लागेका छन् ।

काम गर्दा गल्ती हुने मान्छेबाटै हो । गल्ती हुँदा आत्मालोचना गरी माफि माग्दा मान्छेको उचाई घट्दैन, बरु बढ्छ । मान्छे नैतिकवान ठहर्छ । कमजोरीबाट पाठ सिक्ने र आगामी दिनमा गल्ती दोहोरिन नदिने प्रतिबद्धता गर्नु बुद्धिमानी हो । यो भनाइलाई आत्मसात गर्नु भएको छ बेलायती प्रधानमन्त्री बोरिस जोन्सन्ले ।

उहाँ कोरोना महामारीमा बेलायतमा लागु गरिएका प्रतिवन्धकै बीचमा एक भोजमा सहभागी हुनु भएको थियो । सरकारी आवास टेन डाउनिङ स्ट्रिटमा आयोजित एउटा भोजमा सहभागी हुनु भएपछि प्रधानमन्त्री जोन्सनको बेलायतमा आलोचना भयो ।

विपक्षी लेबर पार्टीले त उहाँले पदबाट राजीनामा नै दिनुपर्ने माग गरेको छ । तर उहाँले पदबाट राजीनामा त दिनु भएन्, आफूबाट गल्ती भएको भन्दै बेलायती जनता समक्ष माफी माग्नु भएको छ । साथै आफूले गरेको गल्तीको विषयमा छानबिन रिर्पोटलाई स्वीकार गर्ने पनि उहाँले बताउनु भएको छ ।

बेलायती प्रधानमन्त्री जोन्सन मात्रै एउटा भोजमा सहभागी भएकै बिषयमा बेलायतमा हंगामा भयो र माफि माग्नुपर्ने अवस्था बन्यो । नेपालमा भने उच्च राजनीकि नेतृत्वबाटै बारम्वार कोरोना महामारी रोकथामका लागि गरिएका निषेधात्मक व्यवस्थाको खुलमखुल्ला उल्लंघन हुँदै आएको छ तर न कसैले गल्ती स्वीकार गरेको छ न कुनै कारबाही नै भएको छ ।

उच्च राजनीतिक नेतृत्वबाट महामारीमा गरिएको सबैभन्दा भद्दा मजाक पूर्वप्रधानमन्त्री तथा एमाले अध्यक्ष केपी शर्मा ओलीले गर्नु भएको थियो । हालै अध्यक्ष ओली कोरोना संक्रमित भएकै अवस्थामा सार्वजनिक कार्यक्रममा सहभागी हुनु भएको थियो । संक्रमित अवस्थामै कार्यक्रममा सहभागी भएको घटना बाहिर आएपछि ओलीको तीव्र आलोचना भैरहेको छ ।

उहाँका बिरुद्ध जिल्ला प्रशासन कार्यालय भक्तपुरमा संक्रामक रोग ऐन २ हजार २० अनुसार कारबाही माग गर्दै उजुरी दर्ता भएको हो । आफ्ना विरुद्ध उजुरी नै दर्ता हुँदा समेत अध्यक्ष ओली मौन बस्नु भएको छ भने पार्टीले समेत कुनै आधिकारिक धारणा सार्वजनिक गरेको छैन् ।

अध्यक्ष ओलीका विरुद्ध परेको उजुरीका बिषयमा एमालेका नेता सूर्य थापाले उजुरीले केही फरक नपर्ने बताउनु भयो । ओलीका विरुद्ध परेको उजुरी काम नभएकाहरुको प्रचारबाजी मात्रै भएको थापाको भनाइ छ ।

एमाले अध्यक्ष ओलीका विरुद्ध दायर मुद्दामा जिल्ला प्रशासन कार्यालयले औपचारिक रुपमा जवाफ दिन आनाकानी गरेको छ । यस बिषयमा जानकारी लिन खोज्दा प्रमुख जिल्ला अधिकारी रुद्रादेवी शर्मा र सहायक प्रमुख जिल्ला अधिकारी तथा सूचना अधिकारी सीता परियारलाई सम्पर्क गर्दा उहाँहरुले आफूहरु व्यस्त रहेकाले बोल्न नसक्ने बताउनुभयो ।

ओली त एक उदाहरण मात्रै हुनुहुन्छ । अहिले २५ जना भन्दा बढि भेला हुन नपाउने नियमविपरित राजनीतिक दल र तीनका कार्यकर्ताहरु त्यो भन्दा बढि भेला भएर विभिन्न गतिविधिहरु निर्वाध रुपमा सञ्चालन गरिरहेका छन् । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड पनि कोरोना संक्रमित हुनु भएको थियो ।

संक्रमण मुक्त भएपछि पनि अध्यक्ष दाहालले पार्टी प्रवेश लगाएका कार्यक्रममा सहभागी हुँदा मास्क लगाउने जस्तो सामान्य तर महत्वपूर्ण कामको वेवास्ता गर्दै आउनुभएको छ ।

त्यस्तै अन्य दलहरु सम्वद्ध नेता तथा कार्यकर्ताहरुले पनि महामारीमा अपनाउनुपर्ने न्यूनतम नियमको पालना गरेको देखिँदैन् । महामारीमा संवेदनशील हुनुपर्ने नेतृत्व पटक पटक चुक्दै आएको छ । यस्ले जनमानसमा राम्रो सन्देश भन्दा नियम उलंघन गर्नुपर्छ भन्ने सन्देश दिएको छ ।