१३ बैशाख २०८१, बिहीबार

रिक्त रहेका राजदूत नियुक्त गर्ने सरकारकाे तयारी, यी हुन् राजदूत फिर्ता गरिएका २० मुलुक

foreign ministry nepal

केपी ओली नेतृत्वको सरकारका पालामा नियुक्त भएका राजदूत फिर्ता गरेको ६ महिनापछि सरकारले २० मुलुकमा रिक्त रहेका राजदूत नियुक्तिका लागि तयारी थालेको छ ।

सत्तागठबन्धनका शीर्ष नेताहरू प्रधानमन्त्री शेरबहादुर देउवा, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल र एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालबीच राजदूत नियुक्ति सिफारिसबारे बालुवाटारमा छलफल भएको हो ।

नेताहरूका अनुसार आ–आफ्नोतर्फबाट नाम दिन प्रधानमन्त्री देउवाले पुष्पकमल दाहाल, नेपाल र जसपा अध्यक्ष उपेन्द्र यादवलाई आग्रह गर्नुभएकाे स्राेतले बताएकाे छ ।

राजनीतिक भागबन्डाका आधारमा १३ देखि १४ तथा परराष्ट्रबाट ६ देखि ७ जनाको सिफारिस हुनेछ । परराष्ट्र मन्त्रालयले भने कम्तीमा आठजना राजदूतका लागि परराष्ट्रमन्त्री डा. नारायण खड्कामार्फत प्रधानमन्त्री देउवासँग दाबी गरेको सम्बद्ध स्रोतले बतायो । पराष्ट्र मन्त्रालयका सातजना सहसचिवहरूको नाम कात्तिक अन्तिम साता नै मन्त्रालयले प्रधानमन्त्री कार्यालयमा बुझाइसकेको बताइएकाे छ ।

फिर्ता गरिएको तीन महिनापछि ११ कात्तिकमा सरकारले भारत, अमेरिका र बेलायतका लागि भने राजदूत सिफारिस गरिसकेको छ । बेलायतका लागि राजदूत ज्ञानचन्द्र आचार्य नियुक्त भइसक्नुभएकाे छ । त्यस्तै, भारत र अमेरिकाका लागि सिफारिस हुनुभएकाे डा. शंकर शर्मा र श्रीधर खत्रीको एग्रिमो आउन बाँकी रहेकाे परराष्ट्र मन्त्रालयले जनाएकाे छ ।

यी हुन् ६ महिनादेखि राजदूत रिक्त २० मुलुकहरू

चीन, जापान, रुस, मलेसिया, बंगलादेश, म्यानमार, श्रीलंका, दक्षिण कोरिया, स्पेन, डेनमार्क, ब्राजिल, दक्षिण अफ्रिका, अस्ट्रिया, अस्ट्रेलिया, ओमान, कतार, इजरायल, इजिप्ट, साउदी अरब र बहराइनमा विगत ६ महिनादेखि राजदूत पद रिक्त रहेका छन् ।