१२ बैशाख २०८१, बुधबार

प्रम देउवाकाे अमेरिका भ्रमण अपेक्षित छ, उपयुक्त समयमा मिति सार्वजनिक हुन्छ : परराष्ट्र मन्त्रालय

foregin

प्रधानमन्त्री शेरबहादुर देउवाको अमेरिका भ्रमण अपेक्षित रहेको परराष्ट्र मन्त्रालयले जनाएको छ । आईतबार मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै परराष्ट्र मन्त्रालयकी प्रवक्ता सेवा लम्सालले प्रधानमन्त्री देउवाको अमेरिका भ्रमणबारे कुरा चलिराखेको बताउनुभएको हो ।

पत्रकारहरुले राखेका जिज्ञासाको जवाफ दिने क्रममा उहाँले प्रधानमन्त्री देउवाको सो भ्रमण अपेक्षित रहेको उल्लेख गर्दै सबै कुरा तयारी पुगेपछि तिथिमितिको घोषणा हुने र उपयुक्त समयमा त्यसबारे सञ्चार माध्यामहरुलाई जानकारी दिने स्पष्ट पार्नुभयो ।

प्रवक्ता लम्सालले परराष्ट्रमन्त्री डा. नारायण खड्काको चीन भ्रमण पनि उपयुक्त समयमा हुने बताउनुभयो ।

उहाँले भन्नुभयो, ‘सम्माननीय प्रधानमन्त्रीज्यूको अमेरिका भ्रमणको कुरा चलिराखेको छ । अपेक्षित छ यो भ्रमण । अब यसको चाँहि तपाईहरुलाई थाहा नै छ । निमन्त्रणा गर्ने प्रक्रिया हुन्छ । त्यसलाई स्विकार गर्ने पनि प्रक्रिया नै हुन्छ । सबै कुरा तयारी पुगेपछि तिथिमितिको घोषणा गर्ने एउटा प्रक्रिया छ । उपयुक्त समयमा यसका जानकारी यहाँहरुलाई दिनेनै छौं । माननीय परराष्ट्रमन्त्रीज्यूको चीन भ्रमण पनि उपयुक्त समयमा हुनेछ ।’

प्रवक्ता लम्सालले अमेरिकी स्टेट पार्टनरसिप प्रोग्राम (एसपीपी) अस्विकार गर्ने नेपाल सरकार मन्त्रीपरिषदको निर्णयबारे अमेरिकालाई पत्र पठाउने काम भईनसकेको समेत स्पष्ट पार्नुभयो । सो प्रोग्रामबारे नेपाल सरकार मन्त्रिपरिषदले गरेको निर्णय मन्त्रालयमा आएको तर अध्ययन भईरहेकाले पत्र भने गईनसकेको उहाँको स्पष्टिकरण थियो ।

प्रवक्ता लम्सालले अध्ययन भईसकेपछि मन्त्रीपरिषदको सो निर्णय कार्यान्वयन हुनेमा भने ढुक्क हुन पनि पत्रकारहरुलाई आग्रह गर्नुभयो ।