११ बैशाख २०८१, मंगलवार

‘विश्वले नेपाललाई हेर्ने दृष्टिकोणमा सकारात्मक परिवर्तन’

narayan khadka

परराष्ट्र मन्त्री डा. नारायण खड्काले वर्तमान सरकार बनेपछि विश्वले नेपाललाई हेर्ने दृष्टिकोणमा सकारात्मक परिवर्तन आएको बताउनुभएको छ ।

परराष्ट्र मन्त्रालयमा आज आयोजित पत्रकार सम्मेलनमा आफ्नो साँढे पाँच महिनाको कार्य अवधिको समीक्षा गर्नुहुँदै परराष्ट्र मन्त्री डा. खड्काले यस अवधिमा संयुक्त राष्ट्रसङ्घमा नेपालको उपस्थिति बलियो हुँदै गएको बताउनुभयो ।

परराष्ट्र मन्त्री डा. खड्काले अफगानिस्तानको मानवीय सङ्कटमा सहयोग पुर्‍याउनका लागि नेपालले सक्रियता देखाएको र त्यसले मानवीय सेवामा ठूलो सन्देश गएको बताउनुभयो ।

अफगानिस्तानको मानवीय सङ्कटका बेला नेपालले आफ्नो सरकारी विमानबाट स्थलगत रूपमै पुगेर राहत सामाग्री हस्तान्तरण गरेको थियो ।

मन्त्री खड्काले बेलायतमा भूतपूर्व गोर्खा सैनिकको मुद्दा उठान भएको, हराएका पुरातात्त्विक सामग्री फिर्ता ल्याइएको र ई पासपोर्ट वितरण आफ्नो कार्यकालको सफल काम भएको पनि पत्रकार सम्मेलनमा उल्लेख गर्नुभयो ।

परराष्ट्र मन्त्री डा. खड्काले रुसले आक्रमण गरेको युक्रेनको नेपालले पक्ष लिनु कुनै गुटमा नलागी मानवीयताको पक्षमा मात्र भएको बताउनुभयो ।

मन्त्री खड्काले असंलग्न परराष्ट्र नीतिअनुसार नै युक्रेनको पक्षमा नेपाल उभिएको स्पष्ट पनि पार्नुभयो ।

उहाँले ५३३ नेपालीलाई सुरक्षित रुपमा युक्रेनबाट अन्य देशमा पठाइएको जानकारी दिँदै आफ्ना नागरिकको सुरक्षाका लागि नेपाल सरकार प्रतिबद्ध रहेको बताउनुभयो ।

पत्रकार सम्मेलनमा परराष्ट्र मन्त्री डा. खड्काले छिटै नै नेपालमा विदेशी मुलुकबाट उच्च स्तरीय भ्रमण हुन लागेको पनि जानकारी गराउनुभयो ।