११ बैशाख २०८१, मंगलवार

स्थगित फुटबल शनिबार हुने, च्यासल र पुलिसबीच

Martyr s Memorial Trophy

जारी सहिद स्मारक ए डिभिजन लिगअन्तर्गत नवौं चरणमा स्थगित भएको नेपाल पुलिस क्लब र च्यासल युथ क्लबबीचको खेल शनिबार हुने भएको छ ।

च्यासलका १९ जना खेलाडीमा कोरोना संक्रमण देखिएपछि अन्तिम समयमा स्थगित गरिएको खेल यही शनिबार दशरथ रंगशालामा दिउँसो एक बजे हुने आयोजक अखिल नेपाल फुटबल संघ (एन्फा)ले जनाएको छ ।

यसअघि यो खेल माघ २ गते हुने तय थियो । यो खेलसँगै लिगमा नवौं चरणका सम्पूर्ण खेलहरु सकिनेछन् । जारी सिजन खराब प्रदर्शन गरिरहेका पुलिस र च्यासल दुवै टोली रेलिगेशनबाट बच्ने लक्ष्यमा छन् ।

८ खेलबाट १ जित, ४ बराबरी र ३ हार व्यहोरेको पुलिस ७ अंकसहित ११ औं स्थानमा छ । यता च्यासल समान खेलबाट १ जित, २ बराबरी र ५ हार सहित ५ अंक जोडेर १३ औं स्थानमा छ ।

घरेलु फुटबलका राम्रा खेलाडी र स्तरीय विदेशी खेलाडी अनुबन्ध गर्दै चर्चा पाएको च्यासलले लिगमा अपेक्षाकृत प्रदर्शन गर्न सकिरहेको छैन् । पुछारको फ्रेण्ड्स क्लब भन्दा २ अंक बढि जोडेको च्यासलले विभागीय एपिएफ बाहेक अन्यसँग जित निकाल्न सकेको छैन् ।

नवौं चरणसम्म २३ अंक जोड्दै साबिक विजेता मछिन्द्र क्लब तालिकाको शीर्षस्थानमा छ । अब लिगमा ४ चरणका खेलहरु बाँकी छन् । ति खेल तालिका सार्वजनिक गर्न बाँकी रहेपनि १०औं चरणका खेलहरु माघको अन्तिम साताबाट शुरु हुने एन्फाले जनाएको छ ।