१२ बैशाख २०८१, बुधबार

अब यस्तो छ नयाँ गठबन्धन बनाउने एमालेको रणनीति !

gathbandan vs uml
फाइल फोटो

प्रमुख राजनीतिक दलहरु एक्ला–एक्लै चुनावी मैदानमा उत्रिने हो भने सबैभन्दा फाइदा नेकपा एमालेलाई हुन्छ । तर, एमालेलाई प्रतिपक्षको वेञ्चमा उतार्न सफल पाँच दलले राष्ट्रिय सभा निर्वाचनमा गठबन्धन कायम गरेर तीनै तहको निर्वाचनमा सहकार्य गर्ने सन्देश दिन खोजेको छ ।

सत्ता गठबन्धनको प्रयासलाई चुनौती दिन एमालेले पनि कसरत थालेको छ । पहिले पाँच दलीय गठबन्धन भत्काउने नभए नयाँ गठबन्धन बनाउने एमालेको रणनीति छ ।

अहिले कांग्रेस सभापति शेरबहादुर देउवाको नेतृत्वमा पाँच दलीय गठबन्धनको सरकार छ । गठबन्धनले बुधबार राष्ट्रिय सभामा संसदकै पहिलो ठूलो दल एमालेलाई तीतो हार चखायो ।

राष्ट्रिय सभाको सबैभन्दा ठूलो दल एमालेले १९ सिटका लागि भएको निर्वाचनमा एक सिटमा चित्त बुझाउनु पर्यो । राष्ट्रिय सभाको नतिजाले आगामी निर्वाचन एमालेका लागि कति सकसपूर्ण हुनेछ भन्ने संकेत गरेको छ।

एमाले अध्यक्ष केपी शर्मा ओलीले पाँचदलीय गठबन्धनसँग एक्लै भिड्न तयार रहेको अभिव्यक्ति दिँदै आए पनि ओलीको भनाइ कार्यकर्ताको मनोवल गिर्न नदिनका लागि ललिपप हो भन्ने अधिकांशले बुझेका छन् । एमाले नेताहरुले त राष्ट्रिय सभाको नतिजा गठबन्धनका लागि अन्तिम भोज पनि भनेका छन् तर के त्यस्ते होला त ? स्वयम् एमालेका नेताहरु अनौपचारिक कुराकानीमा आगामी चुनाव फलामको चिउरा रहेको स्वीकार्छन् ।

राष्ट्रिय सभाको चुनावमा एमाले एक्लैका विरुद्ध पाँच दल भिडेको भ्रम छरेर पनि एमाले नेताहरु ढाँटको मानो उधारोमा पचाउन उद्यत छन् । खासमा एमाले पनि पछिल्लो चुनावमा लोकतान्त्रिक समाजवादी दलसँगको गठबन्धनमा चुनावमा गएको हो । मन र मत मिल्नेसँग गरिने गठबन्धनमा एमाले बरु एकलकाँटे हुँदै गएको छ । स्वयम् एमाले नेताहरु भने एमालेको भविष्यभन्दा गठबन्धनको भविष्यको चिन्ता लिएर बसेको पाइन्छ ।

भारतमा दुई दशक अघि सुरु भएको गठबन्धन संस्कृति नेपालमा खासगरी गत स्थानीय निर्वाचनपछि देखिने गरी अस्तित्वमा आएको हो । विश्वका विभिन्न मुलुकमा कुनै पनि दलले एकल बहुमतको सरकार बनाउन नसक्ने परिदृष्यका बिच गठबन्धन गर्ने परम्परा छ । नीति र सिद्धान्त मिल्नेहरुसँग गठबन्धन हुनु स्वभाविक पनि हो । तर नृपालमा सत्ता स्वार्थका लागि तेलमा पानी मिसाउने चलन छ ।

राजनीतिमा नैतिकताको खडेरी परेकैले स्थानीय चुनावमा माओवादी र काँग्रेसले गठबन्धनमा निर्वाचन लडेका हुन् । संघीय चुनावमा त सत्तामा पुग्नकै लागि एमाले र माओवादी केन्द्रले गठबन्धन र पार्टी एकिकरण नै गरेका थिए । उता गाणतान्त्रिक काँग्रेसले त राजावादी राप्रपाको काँधमा चढेर चुनावमा जाँदा पनि २३ सिटमै चित्त बुझाउनुपरेको थियो ।

अहिले केपी ओलीलाई बालुवाटारबाट बार्दलीमा पु¥याउन बनेको गठबन्धन कुनै पनि हालतमा अर्को संघीय चुनावसम्म गयो भने एमालेका हालत के होला त ? के एमाले गतस्थानीय चुनावझै ठूलो दल बन्ला रुसाँच्चै गठबन्धनका घटक एमालेकै डरले गठबन्धन कायम राख्न मरिहत्ते गरिरहेका हुन् या एमाले विहीन संसद बनाउन रु संसदीय गणितको हिसाबमा हेर्दा समानुपातिक मतमा एमाले अझै उल्लेखनीय स्थानमा रहे पनि प्रत्यक्ष सीटमा गत चुनावमा भन्दा निक्कै कमजोर बन्ने राजनीतिक विश्लेषकहरुको आँकलन छ ।

एमालेको बर्तमान नेतृत्व भने विश्लेषकको आंकलन र शुभचिन्तकको चिन्ता सुन्ने हालतमा समेत देखिँदैन । राष्ट्रिय सभाको लज्जास्पद पराजयलाई सेटिङको चुनाव भनेर एमाले हारमा पनि हर्ष बढाइ गरिरहेको छ। तर एकिकृत समाजवादीले आफू नजित्दा पनि कैयन् स्थानमा एमाले हराउन सक्ने यथार्थ एमाले नेताले हत्केलाले छोप्न खोजे पनि घाम झैं छर्लङ्ग छ । उता गठबन्धन जारी रहँदा एमालेलाई आउँदो चुनाव आरालो लागेको बाच्छालाई मृगको लात्ति नहोला भन्न सकिन्न।