७ बैशाख २०८१, शुक्रबार

द्वन्द्व फैलाउने अभिव्यक्ति दिएको भन्दै मन्त्री रेणु यादवविरुद्ध कारबाही गर्न कांग्रेस नेताको उजुरी

renu yadav

साम्प्रदायिक द्वन्द्व फैलाउने अभिव्यक्ति दिएको भन्दै भौतिक पूर्वाधार तथा यातायातमन्त्री रेणुकुमारी यादवविरुद्ध जिल्ला प्रहरी कार्यालय रौतहटमा उजुरी परेको छ । नेपाली कांग्रेसका नेता रन्जित कर्णले मन्त्री यादवविरुद्ध उजुरी दिनु भएको हो ।

यही ५ माघमा रौतहटमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्ने क्रममा मन्त्री यादवले जनमत पार्टीका अध्यक्ष सिके राउतलाई ज्यान मार्ने धम्की दिएर साम्प्रदायिक द्वन्द्व फैलाउने अभिव्यक्ति दिएको भन्दै उहाँमाथि राज्यविरुद्धको कसुरमा अनुसन्धान गर्न नेता कर्णले माग गर्नु भएको छ ।

यसअघि नै विज्ञप्ति निकालेर मन्त्री यादवले आफूले कसैको ज्यान लिने अभिव्यक्ति नदिएको बताउनु भएको थियो । आफ्नो अभिव्यक्तिलाई बंग्याइएको उहाँले दाबी गर्नु भएको छ। तर, चौतर्फी उनको अभिव्यक्तिको विरोध भइरहेका बेला नेता कर्णले उजुरी दिनु भएको हो ।

यसअघि बिहीबार कांग्रेसका तत्कालीन संविधान सदस्य तथा नेविसंघका पूर्व अध्यक्ष कर्णले सप्तरीका प्रमुख जिल्ला अधिकारी जनार्दन गौतममार्फत प्रधानमन्त्री शेरबहादुर देउवालाई ज्ञापन पत्र पठाएर मन्त्री यादवलाई बर्खास्त गर्न माग गर्नु भएको थियो ।