१७ बैशाख २०८१, सोमबार

‘मानवीय क्षति कम गर्न खोप अभियानलाई तीव्रता दिनुपर्छ’

Birodh
फाइल फोटो

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री विरोध खतिवडाले कोभिड–१९ को सङ्क्रमणबाट हुने मानवीय क्षतिलाई कम गर्न खोप अभियानलाई तीव्रता दिनुपर्ने बताउनुभएको छ ।

बढ्दो कोरोना ग्राफ, खोपको अवस्था र कोरोना नियन्त्रणका लागि भइरहेको प्रयासबारे बुझ्न मधेस प्रदेशको राजधानी जनकपुर आइपुग्नुभएका स्वास्थ्य मन्त्री खतिवडाले आज मधेस प्रदेशका मुख्यमन्त्री लालबाबु राउत, सामाजिक विकास मन्त्री नवलकिशोर साह लगायत सँगको छलफलमा सो कुरा बताउनुभएको हो ।

कोरोना सङ्क्रमणको ग्राफ बढ्दै गए पनि मधेस प्रदेशका जिल्लामा लक्ष्यअनुसार खोप कार्यक्रम अघि बढ्न नसकेको प्रति चिन्ता व्यक्त गर्नुहुँदै मन्त्री खतिवडाले सम्भावित कोरोना जोखिमलाई कम गर्न खोप कार्यक्रमलाई तीव्र पार्नुपर्ने बताउनुभयो ।

खोपसँगै सरकारले निर्धारण गरेको स्वास्थ्य मापदण्डको परिपालना गराउन सबैले आआफ्नो तहबाट सहयोग गर्नुपर्ने मन्त्री खतिवडाको भनाइ छ ।

मुख्यमन्त्री राउतले प्रदेश सरकार कोरोना महामारी नियन्त्रणका लागि आवश्यक स्वास्थ्य सुरक्षा रणनीति बनाइ अघि बढिरहेको बताउनुभयो । कोभिड–१९ बाट जोगिने विधिबारे जनचेतनामूलक सन्देश प्रवाह गर्नुका साथै कोरोना सङ्क्रमणलाई दृष्टिगत गरी प्रदेशभरिका अस्पतालमा औषधि, अक्सिजन लगायत स्वास्थ्य सामग्री तयारी अस्पतालमा राखिएको उहाँले जानकारी दिनुभयो ।

भारतीय सीमा क्षेत्रमा हेल्थ स्थापनासँगै भारतबाट आउनेको सीमा नाकामै एन्टिजेन परीक्षणको व्यवस्था मिलाइएको जानकारी गराउनुहुँदै मुख्यमन्त्री राउतले विगतमा जस्तो मधेस प्रदेशको जिल्लाका अस्पतालमा बेड, अक्सिजन लगायत स्वास्थ्य सामग्रीको अभाव हुन नदिने गरी तयारी गरेको बताउनुभयो ।
रासस