२२ बैशाख २०८१, शनिबार

शुरु भयो हेटौंडामा कोरोना भाइरस परीक्षण

dormani paudel hetauda

वाग्मती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलले बिहीबारदेखि प्रदेश राजधानी हेटौंडाबाटै कोरोना भाइरसको परीक्षण सुरु गरिएको बताएका छन् ।

एक सन्देश जारी गर्दै मुख्यमन्त्री पौडेलले हेटौंडामा रहेको किटजन्य रोग अनुसन्धान तथा तालिम केन्द्रको ल्याबबाट आज बिहीबार बिहान १० बजेबाट संकलित नमूनामा कोरोना संक्रमण परीक्षण थालिएको उल्लेख गरेका हुन् ।

 उनले सो ल्याबबाट प्रत्येक दिन ७५ वटा सम्म नमूनाहरु परीक्षण गर्न सकिने उल्लेख गर्दै ल्याबका आवश्यक सबै सामग्री र जनशक्ति हेटौंडा आइपुगिसकेको र मेसिनहरु जडान गर्ने कार्य सकिएको पनि जानकारी दिए । मुख्यमन्त्री पौडेलले संसारभर कोरोनाको त्रास भइरहेको बेला नेपाल सरकारले चालेको दूरदर्शी तथा सबैभन्दा प्रभावकारी कदमका कारण देशमा कोरोना नियन्त्रणहरु भइरहेको बताए ।  

“हामीलाई विश्वास छ, देशमा भएका सबै कोरोनाका संक्रमितहरु केहीदिन भित्र स्वास्थ्य लाभ गरी फर्कनेछन् र फेरी एक पटक हामी कोरोना भाइरसलाई नेपाली माटोबाट विदाई गर्नेछौं” सन्देशमा उल्लेख छ । छिमेकी देश भारतमा नेपालको सिमासम्म कोरोना फैलिसकेको अवस्थामा हामी सचेत र सावधान हुनु आवश्यक छ ।

प्रदेश सरकारले प्रदेशमा कोरोना संक्रमण फैलन नै नदिनेगरी तयारी गरेको छ । यदि फैलिहाले त्यसलाई नियन्त्रणमा लिन सम्पूर्ण तयारी सकिएको जानकारी गराउँदछौं” मुख्यमन्त्री पौडेलको सन्देशमा उल्लेख गरिएको छ । ~ रासस