१९ बैशाख २०८१, बुधबार

राप्रपाले भन्यो: लिम्पयाधुरामा सडक निर्मााण भइरहँदा सरकार र सत्तारुढ गठबन्धन नबोल्नु ‘दुःखद र रहस्यमय’

Rastriya Prajatantra Party rrp

लिपुलेक–कालापानी क्षेत्रमा भारतले एकतर्फी रुपमा सडक बनाएको भन्दै राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले आपत्ति जनाएको छ ।

राप्रपाका महामन्त्री भुवन पाठकले एक विज्ञप्ति जारी गर्दै सडक निर्माण गरिरहेको विषय सार्वजनिक हुँदा पनि नेपाल सरकार र सत्तारुढ गठबन्धन मौन रहेको भन्दै आलोचना गरेको छ । राप्रपाले सरकार र सत्तारुढ गठबन्धनको मौनतालाई ‘दुःखद र रहस्यमय’ भनेको छ ।

केही साताअघि भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले नै नेपाली भूमि लिम्पियाधुरामा सडक निर्माण भइरहेको बताएका थिए । मोदी आफैँले नेपाली भूमिमा सडक बनेको बताएपनि शेरबहादुर देउवा नेतृत्वको सरकारले भने यस विषयमा केही बोलेको छैन ।

राप्रपाले नेपाली भूमिमा भइरहेको हस्तक्षेपका बारे भारतसँग कूटनैतिक र राजनीतिक तहमा संवाद गर्न सरकारलाई भनेको छ ।

“भारतले सार्वजनिक रुपमा सडक निर्माण गरिरहेको अभिव्यक्ति दिइरहँदा नेपाल सरकार र सत्तारुढ गठबन्धनको पनि आश्चर्यजनक मौनता दुःखद् र रहस्यमय छ,” विज्ञप्तिमा भनिएको छ,“नेपाली भूमिमा भइरहेको हस्तक्षेपकाबारे नेपाल सरकारले भारतसँग कूटनीतिक र राजनीतिक तहमा संवाद गरोस् ।”

राप्रपाले भारतसँग वार्ता गरेर लिम्पियाधुरामा अविलम्ब निर्माण कार्य रोक्न र भूमिको रक्षा हुने गरी समाधान निकाल्न माग समेत गरेको छ ।