६ बैशाख २०८१, बिहीबार

तत्काल लकडाउनको अवस्था नरहेको विशेषज्ञ चिकित्सकको सरकारलाई सुझाव

lockdwon

संक्रामक रोग विशेषज्ञ चिकित्सकहरुले अत्यन्तै तीव्रगतिमा फैलिरहेको ओमिक्रोन भेरियन्टलाई नियन्त्रणमा लिन चाल्नुपर्ने कदमका बारेमा सरकारको ध्यानाकर्षण गराएका छन् ।

तीव्रगतिमा फैलिरहेको कोरोना सङ्क्रमणलाई नियन्त्रणमा लिन प्रधानमन्त्री शेरबहादुर देउवाले शनिवार विशेषज्ञ चिकित्सकसँग गर्नुभएको छलफलमा सहभागीहरुले कोरोना सङ्क्रमण परीक्षणको दायरा बढाउनुपर्ने, काठमाडौँ उपत्यकामा मात्र नभई प्रत्येक जिल्लामा डेडिकेटेड कोभिड अस्पतालल बनाउनुपर्ने, आइसोलेशन सेन्टर, होल्डिङ सेन्टर बनाउनुपर्ने, महामारीविरुद्ध लड्न पर्याप्त जनशक्तिको व्यवस्थापन गर्नुपर्नेमा जोड दिएका थिए ।

सरकारले कोरोना नियन्त्रणका लागि विभिन्न आदेश जारी गरेको छ । सरकारले जारी गरेका आदेशको कार्यान्वयन गर्न क्रियाशील हुनुपर्ने उनीहरूको सुझाव थियो ।

अनावश्यक भीडभाड नगर्ने, अत्यावश्यक अवस्थामा बाहेक घर बाहिर ननिस्कने भनी सरकारले भनिरहे पनि अझै पनि भीडभाड देखिएको भन्दै चिकित्सकहरूले चिन्ता व्यक्त गरेका थिए । जनस्वास्थ्यका मापदण्ड पालनामा सरकारले कडाइ गर्नुपर्ने चिकित्सकको सुझाव थियो ।

चिकित्सकहरूले तत्कालै लकडाउन गर्नुपर्ने अवस्था भने नरहेको भन्दै सरकारलाई जारी आदेशको कार्यान्वयन र स्वास्थ्य मापदण्डको पालनामा कडाइ गर्न सुझाव दिएका थिए ।

प्रधानमन्त्री शेरबहादुर देउवाले नेपाल मेडिकल काउन्सिल, नेपाल मेडिकल एशोसिएशनका पदाधिकारी तथा सङ्क्रामक रोग विशेषज्ञसँग कोरोना नियन्त्रणका बारेमा छलफल गर्नुभएको हो ।

चिकित्सकहरूले लकडाउन गर्नुपरे पनि देशव्यापीरूपमा नभई स्मार्ट लकडाउनका रूपमा गर्न सकिने सुझाव राखेका थिए । कोरोनाविरुद्धको खोप अभियानलाई तीव्र बनाउनुपर्नेमा जोड दिँदै चिकित्सहरूले खोप लगाउने क्रममा देखिएको भीड कम गर्न सरकारलाई सुझाव दिएका थिए ।