१४ बैशाख २०८१, शुक्रबार

(भिडियो सहित) आईजीपी क्षेत्रीलाई हरिवंशको गीतले रुवाएपछि..

haridai1642075354

वरिष्ठ कलाकार हरिवंश आचार्यको स्वर, शब्द र संगीतमा रहेको नयाँ गीत ‘कर्कलो कोक्याउला’को भिडियोको बिहीवार प्रिमियर भएको छ ।

राइजिङ मलस्थित क्युएस सिनेमा हलमा गीतको म्युजिक भिडियो देखाइएको थियो । मानव बेचबिखनविरुद्ध सामाजिक सन्देश बोकेको गीतको भिडियो हेरेर उपस्थिति अतिथिका आँखा रसाएका थिए । १० मिनेट लामो भिडियोमा नेपाली चेलिबेटीलाई फकाएर, माया जालमा पारेर कसरी बेच्ने प्रयास गरिन्छ र कसरी उम्किन सफल हुन्छिन भन्ने कथा छ ।

भिडियो हेरेर नेपाल प्रहरीका आईजीपी शैलेश थापा क्षेत्री, माइती नेपालकी संस्थापक अनुराधा कोइराला, कलाकारहरु मदनकृष्ण श्रेष्ठ, स्वयं अभिनय गरेका हरिवंश आचार्य, उहाँकी पत्नी रमिला, नायिका स्वस्तिमा खड्का, किरण केसी लगायतको आँखा रसाएका थिए । सामाजिक सन्देश बोकेको गीतले भिडियोको कथाले सबैलाई भावुक बनायो ।

म्युजिक भिडियो हेरिसकेपछि बोलेकी अनुराधा कोइरालाले हेर्दाहेर्दै रून मन लागेको बताउनुभयो । भिडियोमा अन्तिममा स्वस्तिमा (मैना गुरागाईं) लाई बेचिनबाट बचाउँदा हरिवंशले पाएको स्याटिस्फेक्सन आफूले पनि बेला बेला चेली उद्धार गर्दा लिइसकेको कुरा सम्झिएको उहाँले बताउनुभयो । यो भिडियो जनचेतनाका लागि बालबलिकाहरुलाई देखाउनुपर्ने उहाँको भनाइ थियो ।

बेचबिखन न्युनिकरण प्रहरी भूमिका महत्वपूर्ण हुने भन्दै कोइरालाले यसका लागि तल्लो स्तरका प्रहरी युनिटलाई प्रशिक्षण जरूरी रहेको छ ।

सन्देशमुलक म्युजिक भिडियो हेरेर कलाकार मदनकृष्ण श्रेष्ठले पनि आँसु झार्नभएको थियो । बेचविखनविरुद्ध सरकारको, प्रहरीको ध्यान पुग्नुपर्ने भन्दै उहाँले यस्ता भिडियोले समस्या आउनुभन्दा अघि नै सचेत गराउने बताउनुभयो ।

आईजीपी थापा क्षेत्रीले भिडियोमा बेचबिखन हुन लागेकी मैनाको उद्धारका लागि पुलिसको टाइम्ली इन्ट्री देखाइएकोमा धन्यवाद दिनुभयो । यो भिडियोले आफ्नोपन दिने बताउदै उहाँले सामाजिक सन्देश प्रवाह गर्ने भिडियो, गाउँ गाउँ पुर्‍याउनुपर्नेमा जोड दिनुभयो ।

कलाकार आचार्यले आफ्नो गीतले सबैलाई छोएकोमा खुशी व्यक्त गर्नुभयो । अहिले भारतमात्र होइन खाडीमासमेत नेपाली महिलाले हृदय विदारक जीवन विताउन बाध्य रहेकोले सचेताका लागि गीत तयार पारिएको उहाँले बताउनुभयो ।

आचार्यले यो गीत सुनिसकेपपछि विदेश जान पाइला अगाडि बढाउँदा नेपाली महिलाले सोच्ने र सचेत हुने विश्वास लिएको बताउनुभयो ।