२२ बैशाख २०८२, सोमबार

सिङ्गै मुसहर बस्तीमा खानेपानी अभाव

water tap
फाइल फोटो

महोत्तरीको एकडारा गाउँपालिका– ४ भटौलिया गाउँमा रहेका १०० घरपरिवारको सिङ्गै मुसहर बस्तीमा खानेपानीको अभाव रहेको छ । दलित मुसहर बस्तीमा एउटा पनि खानेपानी पाइप (कल) नरहेको स्थानीयवासी सिकिन्दर सदा मुसहरले बताउनुभयो ।

उहाँका अनुसार सिङ्गै मुसहर बस्तीको कोही कसैको आफ्नो घरमा खानेपानी पाइप छैन । सबैले खानेपानी ल्याउनका लागि गाउँको सार्वजनिक स्थानमा रहेको पाइप वा बस्तीदेखि अलि टाढा रहेको विद्यालय र वडा कार्यालयको प्राङ्गणमा रहेको पाइपबाट खानेपानी ल्याउने गरेका छन् ।

स्थानीयवासी ६० वर्षीया जिवछी सदा मुसहरनीले आफूहरू यहाँ चार पुस्तादेखि बस्दै आएकामा अहिलेसम्म निजी खानेपानी पाइप जोडन नसकेको बताउनुभयो ।

स्थानीयवासी तेतरी सदाले १०० परिवार मुसहरसँग आफ्नो खानेपानी पाइप नरहेको अवस्थामा बस्ती नजिकै रहेको अन्य जातीको पाइपमा पानी ल्याउन जाँदा दलित भन्दै पानी भर्न नदिने, पाइपको किल्ली (नटबाल्टु) निकालेर राखिदिने र कहिलेकाहीँ छोइन्छ भन्दै गालीगलौजसमेत गर्ने गरेको बताउनुभयो ।

स्थानीयवासी रामसखी सदाले बालबालिका पनि पानीका लागि अरूको पाइपमा जाँदा कुटपिट गरिदिने, गाली गरिदिने र बालबालिका पानी खान गएका कारण कुनै कुनै दिन अरू आफूलाई ठुला जात भन्नेसँग ठूलो झगडासमेत गर्ने गरेको बताउनुभयो ।