६ चैत्र २०८०, मंगलवार

चालु आवमा नेपालको आर्थिक वृद्धिदर ३.९ प्रतिशतमा सीमित रहने विश्व बैङ्कको प्रक्षेपण

World Bank

चालु आर्थिक वर्षमा मुलुकको कूल गार्हस्थ्य उत्पादन ३.९ प्रतिशतमा सीमित रहने प्रक्षेपण गरिएको छ ।

विश्व बैङ्कले ‘विश्वव्यापी आर्थिक सम्भावना’ शीर्षकमा बुधवार जारी गरेको प्रतिवेदनमा सन् २०२२/२३ मा नेपालको आर्थिक वृद्धिदर ३.९ प्रतिशत हुने अनुमान गरिएको छ ।

महामारीबाट बच्न खोप लगाउने जनसङ्ख्यामा बढोत्तरीसँगै कृषि उत्पादकत्वमा हुने वृद्धि र सेवा क्षेत्रमा देखिएका केही सुधारका आधारमा बैङ्कले चालु आवमा नेपालको आर्थिक वृद्धि ३.९ प्रतिशतमा सङ्कुचित हुने प्रक्षेपण गरेको हो ।

कोभिड–१९ को महामारीले निम्त्याएको नयाँ जोखिम, मुद्रास्फीति, ऋण र असमानतामा वृद्धिबीच दक्षिण एसियाका उदीयमान र विकासशील अर्थतन्त्र पुनः मन्दितर्फ उन्मुख भएका प्रतिवेदनले औँल्याएको छ ।

महामारीभन्दा अघिको अवस्थामा फर्कने क्रममा रहेका केही दक्षिण एसियाली देशको अर्थतन्त्र कोभिड–१९ को अर्को लहरले प्रभावित हुने जोखिम बढाएको जनाइएको छ ।

सन् २०२१ को मध्यतिर कोभिडको दोस्रो ठूलो लहरले विश्व अर्थतन्त्रमा विशाल आर्थिक क्षति व्यहोर्नुपरेको उल्लेख गर्दै प्रतिवेदनमा सन् २०२३ सम्म नै विश्व अर्थतन्त्र शिथिल रहने प्रक्षेपण गरिएको छ ।