१५ बैशाख २०८१, शनिबार

श्रममन्त्री श्रेष्ठसँग विश्व बैङ्कका क्षेत्रीय निर्देशकको भेटवार्ता, आन्तरिक रोजगारी प्रवर्द्धनमा सहयोग गर्ने प्रतिबद्धता

krishna world bank

श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री कृष्णकुमार श्रेष्ठसँग विश्व बैङ्कका क्षेत्रीय निर्देशक लीन वेन्ज सहित प्रतिनिधिमण्डलले शिष्टाचार भेट गर्नुभएको छ ।

मन्त्रालयमा आज भएको भेटमा उहाँहरूबीच विश्व बैङ्कको लगानीमा रहेका परियोजनाको प्रभावकारीताका विषयमा छलफल भयो । सो अवसरमा मन्त्री श्रेष्ठले आन्तरिक रोजगारीका लागि सरकारले लिएको रणनीति कार्यान्वयनमा विश्व बैङ्कको सहयोग महत्त्वपूर्ण रहेको बताउनुभयो ।

विश्व बैङ्कले आन्तरिक रोजगार सिर्जना गर्न प्रधानमन्त्री रोजगार कार्यक्रमसँग आबद्ध युवा रोजगारीका लागि रूपान्तरण पहल आयोजनामा गरेको सहयोगका लागि मन्त्री श्रेष्ठले धन्यवाद दिनुभयो । बेरोजगार व्यक्तिको वैयक्तिक विवरण, ज्ञान, सीप र अनुभव, रोजगारीको सम्भाव्य क्षेत्र तथा श्रम बजारका माग र आपूर्ति पक्ष समेतको विवरण एकीकृत गरी रोजगार व्यवस्थापन सूचना प्रणालीको स्तरोन्नतिका लागि विश्व बैङ्कले सहयोग गरेको छ ।

प्रधानमन्त्री रोजगार कार्यक्रमलाई प्रभावकारी बनाउन दिगो रोजगारीसँग जोडने, बेरोजगार, विपन्न तथा लक्षित वर्गका लागि उपयोगी किसिमका पूर्वाधार विकास गर्ने तथा बजारको माग अनुसार रोजगारी आपूर्ति गर्नेतर्फ थप सहकार्यको जरुरी रहेको मन्त्री श्रेष्ठले बताउनुभयो ।

सामाजिक सुरक्षा अन्तर्गत सय दिने अस्थायी रोजगारी कार्यक्रम स्थानीय तहमार्फत सञ्चालन भइरहेको बताउनुहुँदै उहाँले यस कार्यक्रमले कोभिड १९ महामारीमा विपन्न समुदायलाई राहत प्रदान गरेको बताउनुभयो ।

अहिले विभिन्न निकायबाट हुँदै आएका सबै खाले सीप तालिमका कार्यक्रमहरूलाई एकत्रित रुपमा सञ्चालन गरी सीपयुक्त जनशक्ति उत्पादन गर्ने सरकारको नीति रहेको बताउनुहुँदै उहाँले सातै प्रदेशमा निर्माण गरिने तालिम केन्द्रका लागि विश्व बैङ्कबाट सहयोगको अपेक्षा गरिएको बताउनुभयो । विश्व बैङ्कका क्षेत्रीय निर्देशक लीनले सरकार, विकास साझेदार र निजी क्षेत्रसँग सहकार्य गरी विपन्न तथा जोखिमपूर्ण जीवनयापन गरेका नेपाली जनतालाई सहयोग गर्न विश्व बैङ्क तयार रहेको बताउनुभयो ।

नेपाल सरकारको आन्तरिक रोजगारी प्रवर्द्धन सम्बन्धी नीति कार्यान्वयनमा विश्व बैङ्कले सहयोग गर्ने लीनले बताउनुभयो । युवा रोजगारीका लागि रूपान्तरण पहल आयोजनाले विपन्न बेरोजगार युवालाई रोजगारीको अवसर सिर्जना, सीप तथा क्षमता अभिवृद्धि र रोजगारमूलक सेवाको विस्तार मार्फत श्रम बजारको परिणाममा सुधार ल्याउने उहाँले बताउनुभयो ।

माल्दिभ्स, नेपाल तथा श्रीलङ्काका लागि विश्व बैङ्कका राष्ट्रिय निर्देशक फारिस हदाद जर्भोसले नेपालमा थप रोजगारमूलक कार्यक्रम, यस सम्बन्धी नीति, क्षमता विकास तथा सेवा प्रवाहमा सुधार हुने गरी सहायता परिचालन गर्न विश्व बैङ्क तयार रहेको बताउनुभयो । सो अवसरमा प्रधानमन्त्री रोजगार कार्यक्रमका राष्ट्रिय कार्यक्रम निर्देशक डन्डुराज घिमिरेले परियोजनामार्फत भइरहेका कार्यक्रमहरूबारे जानकारी गराउनुभएको थियो । विश्व बैङ्क नेपालको प्रमुख दातृ निकाय हो ।