१४ बैशाख २०८१, शुक्रबार

राष्ट्रहित र जनहितको काममा कोही पनि विभाजित हुनु हुँदैन : मन्त्री श्रेष्ठ

sashi shrestha

भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री शशी श्रेष्ठले सहकारीहरू स्थापनाको उद्देश्य, मर्म र भावना अनुसार सञ्चालन हुनु पर्नेमा जोड दिनुभएको छ ।

भक्तपुरको सुर्यविनायक नगरपालिका वडा नं. १० मा मल्टि च्याम्बर कोल्ड स्टोरको आज उद्घाटन गर्दै मन्त्री श्रेष्ठले संविधानमा व्यवस्था भएअनुसार सहकारीलाई कृषिसँग जोड्दै उत्पादन र उत्पादकत्व बढाएर स्वाधीन अर्थतन्त्रको विकास गर्ने गरी बजेटमार्फत विशेष योजना ल्याउने तयारी भइरहेको जानकारी दिनुभयो ।

मन्त्री श्रेष्ठले जग्गाको चक्लावन्दी गरेर उत्पादन र उत्पादकत्व वृद्धि गर्ने गरी भू–उपयोग नियमावली निर्माणको काम अन्तिम चरणमा पुगेको र छिट्टै आउने बताउँदै यसबाट कृषियोग्य जमिनमा भइरहेको खण्डीकरण रोक्न मद्दत पुग्ने विश्वास समेत व्यक्त गर्नु भयो ।

संविधान, ऐन नियम र नियमावलीहरू बने पनि त्यसको कार्यान्वयन हुन नसकेका कारण भूमि सम्बन्धी समस्या हालसम्म पनि समाधान हुन नसकेको भन्दै आफूले जग्गासम्बन्धी समस्या दिगो रुपमा गर्न खोजी रहेको पनि बताउनुभयो ।

उहाँले भन्नुभयो, “संविधान, ऐन नियम बनाएर र ठूलाठूला भाषण गरेर मात्रै विकास काम नहुने रहेछ त्यो हामीले देखिसकेका छौ, त्यसका लागि अहिले नागरिकले अनुभूति गर्ने गरी काम गर्न शुरु भइसकेको छ, संविधान कार्यान्वयन र भूमि सम्बन्धी समस्या समाधानको काम पहिलो प्राथमिकतामा राखिएको छ, २०२१ सालयता नापी भएर पनि लालपुर्जा पाउन नसकिरहेका गाउँ ब्लकका नागरिक र भूमिहीन दलित र भूमिहीन सुकुम्वासीलाई लालपुर्जा वितरण गर्ने अभियान नै शुरु गरी सकेका छौ, भूमिहीन दलितलाई ललापूर्जा वितरणको काम सिन्धुलीको मुसहर बस्तीबाटबाट शुरु गर्‍यौ, अब फेरीपनि भूमि सम्बन्धी समस्या समाधानका लागि भन्दै आयोग र समिति गठन गरिरहन नपर्ने गरी योजनाबद्ध रुपमा नै काम शुरु गरिसकेका छौ, यसमा सबैको साथ र सहयोग आवश्यक छ ।”

मन्त्री श्रेष्ठले राष्ट्रहित र जनहितमा आफूले शुरु गरेको कामको पक्ष र विपक्षमा तर्क वितर्क शुरु भइसको भन्दै राष्ट्रहित र मुलुकको समृद्धिको काममा कोही पनि विभाजित हुन नहुने पनि बताउनुभयो ।