१४ बैशाख २०८१, शुक्रबार

पूर्वमाओवादी घटकहरुबीच एकताको सम्भावना नरहेको मोहन वैद्यको प्रष्टीकरण

Mohan Baidhya kiran

नेकपा ९क्रान्तिकारी माओवादी०का महासचिव मोहन वैद्यले नेकपा (माओवादी केन्द्र) लगायतका पूर्वमाओवादी घटकहरुसँग एकताको सम्भावना नरहेको बताउनुभएको छ ।

आज क्रान्तिकारी पत्रकार महासंघले काठमाडौंमा आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा बोल्दै महासचिव वैद्यले नेकपा९माओवादी केन्द्र० लगायतका पूर्वमाओवादी घटकहरुबीचमा एकताको सम्भावना नरहेको बताउनुभएको हो ।

माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले एकता हुन्छ भनेर लगातार भनिरहेको भएपनि सो पार्टीसँग एकताको कुनै सम्भावना नरहेको स्पष्ट पार्नुभयो ।

आफूहरुले वर्तमान राज्यसत्ता तथा संसदीय व्यवस्थालाई स्वीकार गर्न नसक्ने र माओवादी केन्द्र संसदीय व्यवस्थाको संरक्षकको रुपमा अघि बढेकाले एकताको सम्भावना नरहेको उहाँको तर्क थियो ।

उहाँले भन्नुभयो – ‘उहाँहरुले पार्टी एकता हुनसक्छ, पूर्वमाओवादीहरुसँग पार्टी एकता हुनसक्छ भनेर लगातार भन्नुभएको छ । तर हाम्रो पार्टीसँग सम्भव छैन ।

नेकपा (क्रान्तिकारी माओवादी)सँग सम्भव छैन । किनभने हामी पुरानो राज्यसत्ता, संसदीय व्यवस्थालाई स्वीकार गर्न सक्दैनौं भनिराखेका छौँ । माओवादी केन्द्रका साथीहरुका जोड यो संविधानको असली संरक्षक हामी हौँ । संसदीय व्यवस्थाको असली संरक्षक हामी हौँ भन्ने हिसाबले उहाँहरु गइरहनुभएको छ । त्यसकारणले उहाँहरुसँग एकताको सम्भावना छैन ।’

उहाँले मोहनविक्रम सिंह नेतृत्वको नेकपा मसाल र नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपासँग पनि एकताको सम्भावना नदेखिएको बताउनुभयो । ती पार्टीहरुसँग पनि राजनीतिक लाइन नमिलेको उहाँको भनाइ छ ।

कार्यक्रममा बोल्दै महासचिव वैद्यले एमसीसी परियोजना राष्ट्रघाती भएकाले खारेज हुनुपर्ने बताउनुभयो । त्यसैगरी लिपुलेक, लिम्पियाधुरा र कालापानीको समस्या जटिल भइरहेको भएपनि वर्तमान सरकार केपी शर्मा ओली नेतृत्वको सरकार जति पनि बोल्न नसकेको बताउनुभयो ।

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले सो क्षेत्रमा बाटो विस्तारको काम जारी छ भनिराखेको भएपनि नेपाल सरकार भने चुप लागेर बसेको उहाँले बताउनुभयो ।

उहाँले भन्नुभयो – ‘देशमा एमसीसीको कुराहरु आइराख्या छ । त्यो राष्ट्रघाती छ । एमसीसी खारेज हुनुपर्छ । लिम्पियाधुरा, कालापानी क्षेत्र, लिपुलेकको समस्या जटिल भएर आइराखेको छ ।

यो सरकारले ओली सरकार जति पनि बोलेन । अहिले बारम्बार मोदीले भनिराख्या छन्, यतापट्टि बाटो खन्ने काम एकदम जारी छ । विस्तार गर्ने काम जारी छ भनिराखेका छन् । सरकार चुप लागेर बसेको छ । राष्ट्रिय स्वाधिनता रक्षाको निम्ति सशक्त रुपमा उभिनुपर्ने आवश्यकता छ ।’

उहाँले राष्ट्रिय स्वाधिनताको निम्ति सशक्त रुपमा उभिनुपर्ने आवश्यकता औंल्याउनुभयो । महासचिव वैद्यले आगामी संसदीय निर्वाचनमा आवश्यकता अनुसार पार्टीको केन्द्रीय कमिटीको निर्णयमा उपयोग अथवा वहिष्कारको नीति लिइने उल्लेख गर्नुभयो ।