४ जेष्ठ २०८१, शुक्रबार

चर्चित -यापर ‘लाउरे’ को प्रहरी हिरासत बसाई लम्बियो

Lahureeee

चर्चित -यापर आशिष राना ‘लाउरे’ को प्रहरी हिरासत बसाई लम्विएको छ । लागुऔषध कारोबारमा संलग्न भएको आरोपमा पोखराबाट पक्राउ परेका लाउरेसहित चारजनालाई थप १७ दिन हिरासतमा राख्न अदालतले अनुमति दिएको हो।

जिल्ला अदालत कास्कीले उनलाई थप १७ दिन हिरासतमा राखेर अनुसन्धान गर्न कास्की प्रहरीलाई अनुमति दिएको छ ।

यसअघि अदालतले उनीहरुलाई आठ दिन हिरासतमा राख्न अनुमति दिएकामा सो म्याद सकिएपछि प्रहरीले थप १७ दिन हिरासतमा राख्न अनुमति माग गरेको थियो । उनी लागुऔषध मुद्धामा पुस १४ गते राति पक्राउ परेका थिए । लाउरेसंगै पक्राउ परेका अन्य तीन जनाको पनि हिरासत बसाइ लम्विएको छ ।

उनीहरुलाई बुधबार (२१ गते) देखि लागू हुनेगरी १७ दिन हिरासतमा राख्न अनुमति दिइएको हो। ​लाउरेसहित चारजनालाई पुस १४ गते राति ७ बजे पोखरा महानगरपालिका–८स्थित जाल्पारोडबाट पक्राउ परेका थिए ।

लाउरेसहित पक्राउ पर्नेमा पोखरा ११ का ३९ वर्षीय ध्रुबबहादुर थापा, पोखरा ७ का ३० वर्षीय नवीन गुरुङ र पोखरा ८ सभागृहकी २२ वर्षीय सुस्मिता गुरुङ छन् । पक्राउ परेकामध्ये नवीन गुरुङको साथबाट ०.५१ ग्राम र सुस्मिता गुरुङको कोठामा १२.५० ग्राम ब्राउन सुगर बरामद गरेको प्रहरीले जनाएको छ ।

प्रहरीले उनीहरुबाट डिजटल तराजु एक थान, ३८ हजार ३५० रुपैयाँ नगद, पाँच सेट मोबाइल र एउटा स्कुटर बरामद गरेको छ । कास्की प्रहरी प्रवक्ता सुन्दर तिवारीका अनुसार लागू औषधसम्बन्धी मुद्दाका अभियुक्तलाई ९० दिनसम्म हिरासतमा राखेर अनुसन्धान गर्न सकिन्छ ।

लाउरेसहितको समूहले लागुऔषध कारोबार गरेको पुष्टि भएमा पाँच वर्षसम्म जेल चलान हुन सक्ने डिएसपी तिवारीको दावी छ । उनका अनुसार उनीहरुले लागुऔषध सेवनमात्रै गरेको पुष्टि भएमा एक वर्ष कैद र १० हजार रुपैयाँसम्म जरिवाना हुन सक्ने कानुनी प्रावधान छ । लाउरेलाई कास्की प्रहरीमा भिआइपीको सुविधा प्रदान गरिएको बताइएको छ ।