२० बैशाख २०८१, बिहीबार

सीडीओहरुको बैठक: उपत्यकामा स्मार्ट लकडाउनको तयारी, कुन कुन क्षेत्रमा होला लकडाउन ?

CDO KTM1616607651

कोरोना संक्रमणको रोकथामबारे छलफल गर्न काठमाडौं उपत्यकाका प्रमुख जिल्ला अधिकारीहरुको बैठक बस्ने भएको छ ।

संक्रमण रोकथामका लागि तत्काल कदम चाल्न प्रधानमन्त्रीको अध्यक्षतामा शुक्रबार बसेको कोभिड संकट व्यवस्थापन केन्द्र समन्वय समिति सीसीएमसीले निर्देशन दिएलगत्तै उपत्यकाका सीडीओहरुको बैठक बस्न लागेको हो ।

काठमाडौं,भक्तपुर र ललितपुरका प्रमुख जिल्ला अधिकारीहरुको संयुक्त बैठक बस्नु अघि आज तीन जिल्लाको डीसीसीएमसीको बैठक पनि बस्ने र स्वास्थ्य मन्त्रालयसँग समेत छलफल हुने बताईएको छ ।

यस्तै आज आईतबार सीसीएमसीको बैठक पनि बस्ने तयारी छ ।

यसैबिच प्रधानमन्त्री शेरबहादुर देउवाले पनि कोरोना जोखिमका कारण भेटघाट बन्द गरेका छन्। नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाललाई कोराना संक्रमण पुष्टी भएपछि प्रधानमन्त्री देउवा समेत कन्ट्याक्ट ट्रेसिङमा परेका हुन्।

स्वास्थ्य मन्त्रालयले पनि आईतबार नै कोरोनाको पछिल्लो अवस्थाबारे प्रधानमन्त्रीलाई ब्रिफिङ गर्ने भएको छ । त्यसपछि गृह मन्त्रालयसँग समन्वय गरेर ३ वटै जिल्लाका सीडीओहरुले स्मार्ट लकडाउन कार्यविधि अनुसार संक्रमण रोकथामबारे निर्णय गर्ने भएका छन् ।

सोमबार भित्र बस्ने तीनै प्रशासनको बैठकले भीडभाड हुने क्षेत्रलाई नियन्त्रण गर्ने तर्फ निर्णय गर्ने काठमाडौंका सीडीओ रिजालले बताउनुभयो । एकैपटक सबै क्षेत्र बन्द नगरी बढी भीडभाड हुने क्षेत्रहरु यातायात, मालपोत, स्कुल, कलेज, सिनेमा घर, क्लबलाई बन्द गर्नेबारे छलफल हुने सीडीओ रिजालले बताउनुभयो ।

शुक्रबारको सीसीएमसी बैठकपछि संचारकर्मीसँग कुरा गर्दै स्वास्थ्यमन्त्री विरोध खतिवडाले स्मार्ट लकडाउनमा जानेबारे छलफल भएको बताउनु भएको थियो ।