७ बैशाख २०८१, शुक्रबार

ओरोलो लागेको हो र ओलीको आत्मविश्वास ? हार स्वीकार किन गरे !

kp oli mahila programme
फाइल फोटो

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आगामी राष्ट्रियसभा निर्वाचनमा पार्टी पराजित हुन सक्ने भन्दै यसबाट नआत्तिन नेता कार्यकर्तालाई आग्रह गर्नुभएको छ । सँधैजसो हक्की र दम्भपूर्ण कुरामा रमाउने ओली यसपटक चाँही निर्वाचन नहुँदै हार स्वीकार गर्न किन तयार हुनुभयो ?

सत्यसँग नलड्ने र शक्तिसँग नझुक्ने आफ्नो स्वभाव रहेको भन्दै बारम्बार असत्यमा रमाउने छवि बनाएका नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले यसपटक राष्ट्रियसभा निर्वाचनमा एमालेको सम्भावित परायजलाई पहिल्यै स्वीकार गर्नुभएको छ ।

पछिल्लो आम निर्वाचन यता ओलीले दिएका अभिव्यक्ति हेर्ने हो भने उहाँले बोल्ने धेरैजसो कुरा सत्यमा भन्दा पनि दम्भमा आधारित छन् । तत्कालीन नेपाल कम्युनिष्ट पार्टी नेकपामा देखिएको संकट, त्यसपछि संसद विघटन, त्यसपछि नेकपा विभाजन र अन्ततः एमालेमै आएको फुटपछि पनि ओलीले थुप्रै सत्यहरु बंग्याएर आफूलाई महान सावित गर्ने प्रयास जारी राख्नु भएको छ ।

आफ्ना अभिव्यक्तिलाई रसिक र कर्णप्रिय बनाउन माहिर ओली ती अभिव्यक्तिलाई व्यवहारतः पुष्टि गरेर देखाउन भने असफल नेताकै रुपमा स्थापित हुनुहुन्छ । अब्बल सेन्स अफ ह्युमरले उहाँका घण्टौँ लामा भाषणहरु पनि दिक्क लाग्दा हुँदैनन् । दक्षिण भारतीय फिल्ममा जस्तो एक्सनदेखि रोमान्स र कथा र पटकथाको अब्बल संयोजनले उहाँको मन्तव्यले घण्टौँ समय व्यतित भएको थाहै हुँदैन । तर नतिजा चाहिँ शुन्यप्रायः नै देखिन्छ ।

पहिलो पटक प्रधानमन्त्री हुँदादेखि बाँडेका कयौँ सपनााहरु थाती रहेका बेला दोस्रो कार्याकालका लागि सरकारमा गएपछि उहाँले सपनाहरुको चाङ नै लगाउनु भयो । थुप्रै सपनाहरु बक्यौता राखेर सरकारबाट प्रतिपक्षमा पुगेपछि पनि उहाँमा दम्भ र अहंकारको पारो खासै घटिरहेको थिएन ।

गत साउनयता हरेक मन्तव्यमा गन्तव्य सरकारको कुरा दोहो¥याई नै रहनुभयो । गठबन्धन सरकारले केही गर्न सकेन भन्ने आरोपभन्दा बढी उहाँको आश्वासन हुन्थ्यो । यो सरकार दुई–चार दिन रमझम गर्न बनेको हो त्यसपछि हामीले नै चलाउने सरकारले सबै सपनाको रेल कुदाउँछौँ भन्ने आश्वासनमै ओली रमाउनु भयो ।

खै किन हो शुक्रबार पार्टीको जिल्ला अधिवेशन भर्चुअल रुपमा उद्घाटन गर्दा ओलीले जिल्ल पार्ने कुरा गर्नुभयो । माघ १२ गते हुने राष्ट्रियसभा निर्वाचनमा एमालेको सम्भावित हार स्वीकार गनुृभयो र नेता कार्याकर्तालाई हारबाट हतोत्साहित नहुन अपील गर्नुभयो । पछिल्लो पटक सत्तारुढ ५ दलीय गठबन्धनमा राष्ट्रियसभाका लागि भागवण्डा हुँदै गर्दा एमाले एक्लो प्रतिस्पर्धी बनेको छ ।

जसका कारण निर्वाचन हुन लागेका १९ सिटमध्ये एमालेको भागमा कुनै सिट नपर्ने सम्भावना बढ्दो छ । उसले गुमाउने ८ सिटसमेत गठबन्धनवालाहरुले भाग लगाइसकेका छन् । गठबन्धनको यही भागवण्डाकै कारण ओलीमा आत्मविश्वास यसरी ओरोलो लागेको होला र ?

केही दिनयता एमाले र कांग्रेसको बीचमा समेत खिचडी पाकिरहेको चर्चा पनि छ । दुई दिनअघि कांग्रेस नेता रामचन्द्र पौडेल बालकोट पुग्नुभयो । फेरि शनिबार प्रधानमन्त्रीसमेत रहेका सभापति शेरबहादुर देउवासमेत बालकोट पुग्नुभयो ।

कांग्रेस नेताहरुको बाक्लो बालकोट आउजाउले यी दुई दलबीच निकटता बढाइरहेको र गठबन्धनको भविस्यमाथि ग्रहणको संकेत देखिइरहेका बेला ओलीले कसरी यस्तो बोल्नुभयो ? यी दुई पार्टीका नेताहरुको निकटताले गठबन्धन भत्किने र कांग्रेस एमालेको संयुक्त सरकार बन्न सक्ने, अमेरिकी अनुदान परियोजना एमसीसी समेत यीनै दल मिलेर पारित गर्नसक्ने सम्मका चर्चा चलिरहेका बेला ओलीले राष्ट्रियसभा निर्वाचनको नतिजाबारे कार्यकर्तालाई गरेको सम्झाइबुझाइ रहस्यमय देखिएको छ । चितवनमा सम्पन्न दशौँ महाधिवेशनपछि खास्सै धेरै फुर्तीफार्ती नदेखाएका ओलीलाई कुन मनोदशाले छोएर दम्भको पारो यो हदसम्म ओरालो लागेको होला ?