८ बैशाख २०८१, शनिबार

हुम्लामा वर्षकै ठूलो हिमपात : तापक्रम माइनस १२, धारा र खोलाका पानी समेत जमे

humla snow

हुम्लामा वर्षकै ठूलो हिमपात भएको छ ।

शुक्रबार बेलुकादेखि लगातार परेको हिमपातले हुम्ला सदरमुकाम सिमकोट सेताम्या भएको छ । एक फिट जमेको हिउँले गर्दा स्थानीयवासीलाई घरबाट बाहिर निस्कन समस्या भएको छ । यहाँको तापक्रम माइनस १२ भन्दा तल झरेपछि जाडो अत्यधिक बढेको छ ।

वर्षकै ठूलो हिमपातले नाम्खा गाउँपालिकाको मलिमी, मुचुलगायतका क्षेत्रमा चार फिट हिउँ जमेको तुमकोटका स्थानीयवासी छपाल लामाले जानकारी दिनुभयो । उहाँका अनुसार घरभन्दा बाहिर निस्कन सकिएको छैन । चिसोले खानेपानीका धारा तथा खोलाका पानी समेत जमेका छन् । अत्यधिक चिसो र हिमपात भइरहेका कारण सिमकोट सुनसान भएका छन् ।

निरन्तर हिउँसँगैको अत्यधिक चिसोले सिमकोट आसपासको जनजीवन प्रभावित बनाएको सहायक प्रमुख जिल्ला अधिकारी दशरथ राईले जानकारी दिनुभयो । हिमपातले अहिलेसम्म कुनै अप्रिय घटना भने नघटेको उहाँले बताउनुभयो ।